काठमाडौं– मधुमेहको बिरामीलाई सरकारले उपचारमा सहुलियको र औषधीमा ५० प्रतिशत छुट दिन उनीहरुको संगठन डाइविटिज नेपालले माग गरेको छ ।
काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनका महासचिव कैलाश प्रधानले भने, ‘अन्य जटिल रोगका बिरामीलाई स्वास्थ्य सेवामा सहुलियतको व्यवस्था गरे जस्तै मधुमेहका रोगीहरुलाई पनि औषधिमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्छ।
डायबिटिजले नै मस्तिष्कघात अन्धोपन, स्नायु सम्बन्धी समस्याहरु मिर्गौला सम्बन्धी समस्या उत्पन्न गराउने भएकाले यसलाई व्यवस्थापन गर्न उपचारमा सहुलियत र औषधिमा छुट मागिएको उनले बताए।
हाल नेपालमा डायबिटिजका ८ देखि ९ लाख रोगीहरु रहेको अनुमान गरिएको छ भने ३० लाख नेपाली मधुमेह रोगको नजिक रहेको अनुमान छ।
यस विषयमा जनचेतना जगाउने उदेश्यले डाइविटिज नेपालले हरेक वर्ष जस्तै यो वर्ष पनि साताव्यापी कार्यक्रम गर्ने भएको छ । माघ २५ देखि फागुन ५ गतेसम्म मधुमेह रोगको बारेमा विभिन्न कार्यक्रम तथा गोष्ठी गरिन जनाएको छ।
जसअन्तर्गत २६ गते डाइटिसियनहरुका लागि, २७ गते डाक्टरहरुका लागि, २८ र २९ गते नर्सहरुका लागि मधुमेह नियन्त्रणका लागि पछिल्लो समयमा पत्ता लागेका उपाय एवं औषधिको बारेमा जानकारी गराइने महासचिव प्रधानले बताए।
टोल समाजमा भएका स्वास्थ्य स्वंयमसेविकाका रुपमा कार्यरत जनशक्तिलाई मधुमेह र रोकथामका उपायहरु र खानपानको बारेमा जानकारी गराउने उद्देश्य पनि संस्थाको रहेको बताएको छ।
जनचेतनाका लागि फागुन २ गते डाक्टरहरुका लागि गोष्ठी र फागुन ४ गते एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरिने कोषाध्यक्ष डा. जया प्रधानले बताइन्।
यसवर्ष डाइविटिज रोकथामकको लागि बेलायत भारत र नेपालका प्रतिष्ठित डाक्टर पोषणविज्ञ, डाइटिसियन र नर्सहरुबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिँदैछ।