नेपालगन्ज- मापदण्ड विपरित सञ्चालन भएका नेपालगन्जका ३ वटा औषधि पसललाई जिल्ला अनुगमन टोलीले सिलबन्दी गरेको छ।
अनुगमन टोलीले नेपालगन्जको राझास्थित पवन मेडिकललाई दर्ता नभएको औषधिबिक्री वितरण गरेको पाइएपछि १५ दिनसम्म सिलबन्दी गरी कारबाहीको प्रकृया अगाडि बढाएको छ।
त्यसैगरी, नेपालगन्जको विपी चोकस्थित दर्शन फार्मलाई औषधिबिक्रीका लागि इजाजत नपाएका व्यक्तिले औषधिबिक्री गर्ने गरेको, चिकित्सकको पर्चाका आधारमा बिरामीको रेकर्ड राखेर बिक्री गर्नु पर्ने मनोदिपक अर्थात लागूऔषधको रुपमा पनि प्रयोग गर्ने मिल्ने किसिमका औषधिमापदण्ड विपरित बिक्री गरेको, औषधिमा लेखिएको मुल्य भन्दा बढी मुल्यमा औषधि बिक्री गरेको भेटिए पछि २१ दिनका लागि अनुगमन टोलीले सिलबन्दी गरेको हो।
त्यसै गरी भेरी अञ्चल अस्पताल नजिकै रहेको हेल्प स्टार फार्मेसीलाई औषधि बिक्रीका लागि इजाजत नपाएका व्यक्तिले औषधि बिक्रीगर्ने गरेको चिकित्सकको पर्चाका आधारमा बिरामीको रेकर्ड राखेर बिक्रीगर्नु पर्ने मनोदिपक अर्थात लागूऔषधको रुपमा पनि प्रयोग गर्ने मिल्ने किसिमका औषधि मापदण्ड विपरित बिक्री गरेको, नेपालमा दर्ता नभएको औषधि बिक्री गरेको पाइएका कारण ३० दिनसम्म सिलबन्दी गरी कारबाहीको प्रकृया अगाडि बढाएको छ।
मापदण्ड अनुसार औषधि पसल संचालन गर्नका लागि पटक पटक आग्रह गर्दा पनि अटेर गरेका कारण पसलमा सिलबन्दी गरी सिलबन्दी गरिएको अवधि सकिएको भोलिपल्टै औषधि व्यवस्था बिभागको नेपालगन्जस्थित कार्यालयमा उपस्थित हुनकालागि निर्देशन दिइएको अनुगमन टोलीका सदस्य एवं जिल्ला प्रशासन कार्यालय बाँकेका शाखा अधिकृत खगेन्द्र पौडेलले बताए।
वाणिज्य, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन, जिल्ला प्रहरी सहितको टोलीले बाँकेका औषधि पसलहरुको अनुगमन गरेको थियो।