काठमाडौं- सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा राजेन्द्र पन्त पुनर्वहाली भएका छन्। स्वास्थ्यमन्त्री दीपक बोहोराले डा तारानाथ पौडेललाई महानिर्देशक बनाई डा पन्तलाई मन्त्रालय ल्याउने निर्णय गरेका थिए।
मन्त्री बोहराले पुस ३० गते डा पन्तलाई महानिर्देशकबाट हटाएर पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा पौडेललाई महानिर्देशकमा नियुक्त गरेका थिए।
डा पन्तले आफूलाई जिम्मेवारीबाट निकालेपछि पदबाट राजीनामा दिएका थिए। माघ ३ मा पदबाट राजीनामा दिएका डा पन्तले माघ १७ मा सर्वोच्च अदालतमा मन्त्रालय सरुवा गरिएको विषयमा रिट निवेदन दिएका थिए।
डा पन्तको रिटमा सर्वोच्च अदालतले माघ १८ मै डा पन्तलाई सरुवा गर्ने निर्णय कार्यान्वनय नगर्न स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको अन्तरिम आदेश अनुसार मन्त्रालयले डा पन्तलाई पुनः स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिनेगरी पत्र तयार गरेको छ।
राजीनामापछि विभागबाट विदाइ भएका डा पन्त आइतबारदेखि पुनः विभागमा हाँजिर हुन जाने भएका छन्।
न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले पन्तलाई मन्त्रालय तान्दै अर्का व्यक्तिलाई उक्त जिम्मेवारी दिने निर्णय कानुनसम्मत नभएको भन्दै निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो।