काठमाडौं- डा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले विचाराधीन मुद्दामा प्रभाव पार्नेगरी चलखेल गरिरहेको भन्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
त्रिवि शिक्षण अस्पतालमा शनिबार पत्रकार सम्मेलन गर्दै डा केसीले प्रधानन्यायाधीश पराजुलीले अहिले पनि विवादास्पद कार्यहरु गरिरहेको आरोप लगाउँदै मुख्य पाँच वटा माग अघि सारेका छन्।
सर्वोच्चले प्रधानन्यायाधीश पराजुलीको नागरिकता प्रतिलिपि र शैक्षिक प्रमाणपत्र झिकाएर छानबिन गर्न आदेश दिए पनि उनी पदमै रहिरहँदा चलखेलका लागि ठाउँ रहेको डा केसीले औंल्याएका छन्।
डा केसी प्रधानन्यायाधीशले न्यायको किनबेच गरेको भन्दै उनको राजीनामाको मागसहित गत पुसको अन्तिम साता अनसन बसेका थिए। सर्वोच्चले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डीनमा डा शशि शर्मालाई पुनर्वहालीको आदेश दिएसँगै उनी अनसन बसेका थिए। अनसनकै क्रममा सर्वोच्चको आदेशका आधारमा डा केसीलाई अनसन स्थल त्रिवि शिक्षण अस्पतालबाटै पक्राउ गरेर भोलिपल्ट अदालत उपस्थित गराइएको थियो। बहसपछि सर्वोच्चको इजलासले पराजुलीको नागरिकता प्रतिलिपि र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश गरेको थियो।
डा केसीले पराजुलीले न्यायको बेचबिखन गरेको आरोप लगाउँदै भने, 'इमानदार न्यायाधीशहरुको सम्मान गर्छु। अरु इमानदार छन् भन्ने विश्वास छ। तर, पराजुलीले न्याय बेचविखन गरे। म उनी विरुद्ध लड्छु। लडिरहेको छु।'
यस्तै, डा केसीले प्रधानन्यायाधीश पराजुलीले गलत तरिकाले प्राप्त गरेका नागरिकताका प्रतिलिपिहरु, शैक्षिक प्रमाणपत्रहरु तथा तिनका आधारमा भएका नियुक्ति बदर गरी उनीमाथि कानुनी कारबाही गर्न समेत माग गरेका छन्।
केसीको माग छ, 'पराजुलीलाई विपक्षी बनाई ल्याइएको अदालतको अवहेलना मुद्दा तत्काल दर्ता गरी कारबाही अगाडि बढाइयोस्।'
साथै डा केसीले प्रधानन्यायाधीश पराजुलीले वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको विषयको उजुरीका सम्बन्धमा कल डिटेल तथा भ्वाइस रेकर्ड झिकाउने लगायतका कार्य गरी गम्भीरतापूर्वक अनुसन्धान गर्न समेत माग गरेका छन्।
उनले पराजुलीका विवादास्पद नागरिकता तथा शैक्षिक प्रमाणपत्र सम्बन्धी अभिलेखहरुको सूचना तत्काल उपलब्ध गराउन माग गरेका छन्।
डा केसीले सूचनाको हकअन्तर्गत प्रधानन्यायाधीश पराजुलीका नागरिकता प्रतिलिपि माग्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिए पनि कार्यालयले 'दिनु आवश्यक नरहेको' भन्दै रित्तो हात फर्काएको थियो।
