नेपालगन्ज– विपन्न परिवाररकी एक बिरामीलाई भेट्न अस्पतालका चिकित्सकसहितको टोली बिरामीको घरमै पुगेको छ। शनिबार साझ साढे ४ बजे भेरी अञ्चल अस्पतालका फिजिसियन डा खगेन्द्र शाह, डा कृष्ण आचार्य र मेट्रोन दुर्गा लक्ष्मी सहितको टोलीले बर्दियाको सोराहास्थित बिरामी रुमा थारुको घर पुगेका हुन् ।
घरमा पुगेर उनको स्वास्थ्य चेकजाँच गर्नुका साथै उनलाई आवश्यक पर्ने औषधि समेत उपलब्ध गराएका छन्। उनको रगतको नमुना समेत लिएर टोली फर्केको हो ।
काठमाडौंस्थित वीर अस्पतालमा करिब एक महिना लामो उपचारपछि रुमा माघ १९ गते अस्पतालबाट घर फर्किएकी थिइन्। रुमाको स्वास्थ्य अबस्थामा सुधार भइरहेको छ । उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन चिकित्सकहरुको टोली रुमाकै घरमा पुगेका हुन्।
महिनावारी गडबढीका कारण रक्तश्राव भएर गत पुस २२ गते भेरी अस्पताल भर्ना भएकी रुमा अस्पताको हेलचक्र्याइँ तथा स्वास्थ्यकर्मीको गम्भिर त्रुटीका कारण दुबै मिर्गौलामा गम्भिर समस्या उत्पन्न भएपछि नेपालगञ्ज र काठमाडौंको वीर अस्पतालमा उपचार गराएर रुमा घर फर्किएकी थिइन्।
अस्पतालका स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण रुमालाई ‘ओ पोजिटिभ’ रगत चढाउनु पर्नेमा ‘बी पोजिटिभ’ समुहको रगत चढाइएका कारण रुमाको दुवै मिर्गौलामा समस्या आएको थियो ।
रुमाको स्वास्थ्यमा क्रमिक सुधार आएपनि थप समस्या नआओस् भनेर बिरामीको घरमा पुगेर उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको डा खगेन्द्रले बताए ।
आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन डाक्टरहरु घरमै आएको देखेपछि रुमा पनि दंग परिन्। उनले भनिन्, ‘मलाई त भगवान नै घरमा आए जस्तो भयो ।’