काठमाडौं– अवैध रुपमा चिकित्सकीय अभ्यास गर्नेहरु विरुद्ध आज मुद्दा दर्ता गरिने भएको छ।
काठमाडौंका विभिन्न अस्पतालबाट पक्राउ परेका १७ जनामध्ये अधिकांशको आज र केहीको भोलिसम्म मुद्दा दर्ता भइसक्ने सरकारी वकिलको कार्यालयले जनाएको छ। उनीहरु सबैलाई ठगी मुद्दा चलाइने भएको हो। यसका लागि अनुसन्धानमा संलग्न अधिकृतहरुले अभियोगपत्र तयार गरिसकेका छन्।
चिकित्सकीय योग्यता र अभ्यास गर्ने अनुमति नभए पनि उपचार सेवाका नाममा ठगी गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले जाहेरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल मेडिकल काउन्सिलको सहकार्यमा उनीहरुलाई पक्राउ गरिएको थियो।
पक्राउ परेकी सिविक अस्पताल प्रालिकी सञ्चालक प्रतिभा पाण्डेले नेपालमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको अनुमति नै नपाएकी अस्ट्रेलियन नागरिक डा सराह एन्ने केम्पलाई काम लगाएको अभियोग छ। डा केम्पलाई देखाएर अस्पतालले अनुभवी तथा वरिष्ठ डाक्टरहरुले सेवा दिने गरेको भन्दै झुक्याएर दैनिक लाखौं ठगी गरेको अभियोगपत्रमा उल्लेख छ।
‘चिकित्सा पास गरेपछि काम गर्न दक्ष भए वा नभएको जाँच्ने मेडिकल काउन्सिलको अनुमति नपाएकी डाक्टरबाट काम गराउनुबाट सञ्चालक पाण्डेको ठगी गर्ने नियत देखिन्छ’, अभियोगपत्रमा भनिएको छ।
यसैगरी, डा केम्प ठगी गर्ने मनसायका साथ 'नन टुरिस्ट भीसा' (म्यारिज)मा आई चिकित्सकीय अभ्यास गर्न थालेको पाइएको अनुसन्धान अधिकृतले राय दिएका छन्। डा केम्पले सिविक अस्पतालमा कार्यरतएक डाक्टरसँग चिकित्सकीय कार्य गर्दै आएको कागजातमा खुल्न आएको छ। सो आधारमा डा केम्पले ति डाक्टरले पाएको तलब बराबर अर्थात् ५३ लाख ५४ हजार १५ रुपैयाँ ठगी गरेको अनुसन्धान अधिकृतले उल्लेख गरेका छन्।
सो कार्य मुलुकी ऐन ठगी महलको १ नम्बरमा परिभाषित कसुर रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरिएको हो।
यसैगरी, बौद्धस्थित चाइना ग्रेटवाल अस्पतालका सञ्चालक नारायण तिमिल्सिनाले चिकित्सा विज्ञानको अध्ययन समेत नगरेका र नेपाल मेडिकल काउन्सिलको अनुमति नलिएका चिनियाँ नागरिकहरुलाई काम लगाएको पाइएको अनुसन्धान अधिकृतको ठहर छ। उनीहरुले गैरकानुनी रुपमा चिकित्सकीय अभ्यास गर्नुका साथै भ्रमपूर्ण 23 समेत गरेर सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगेको र बिरामीको जिउज्यानमा समेत खेलवाड गरेको भन्दै मुद्दा दायर गर्न लागिएको छ।
यस्तै, ठमेलस्थित एपोलो इन्टरनेसनल पोलिक्लिनिक, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायत अस्पतालबाट पक्राउ परेकाहरुलाई पनि अवैध चिकित्सकीय अभ्यास, भ्रमपूर्ण 23, चिकित्सा विज्ञान नपढी उपचार गरेको र गराएको अभियोग लगाइएको छ।
पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी सञ्चालक प्रतिभा पाण्डे, अस्ट्रेलियन नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्विन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन्।
नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा उनीहरुलाई सिआइबीले माघ १५ गते पक्राउ गरेको थियो।