काठमाडौं– दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकारबाहीमा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अवरोध गर्दै आएको खुलेको छ।
सचिव चौधरीको अवरोधका कारण प्रतिष्ठानमा काम ठप्प भएका छन्। प्रतिष्ठानको ऐन अनुसार राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहत जानुपर्ने भए पनि चौधरीले अस्पतालको अख्तियारी दिएकी छैनन्।
उच्च स्रोतका अनुसार उनले आफ्ना श्रीमान् डा श्रवण चौधरीलाई प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्ति गर्न दबाब दिएकी थिइन्। नियुक्ति नपाएपछि सचिव चौधरीले प्रतिष्ठानमा अवरोध खडा गरेकी हुन्।
उनले प्रतिष्ठानका पदाधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयमै हाजिर हुनसमेत दबाब दिइरहेको स्रोत बताउँछ। तर मन्त्रालयका अरु काममा व्यस्त रहेकाले प्रतिष्ठानको काममा ढिलाइ भएको उनको दाबी छ।
डा गोविन्द केसीको अनसनका क्रममा सरकारले सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सहमति गरेको थियो। सोही सहमतिका आधारमा प्रतिष्ठान स्थापना भएको हो।
२०७४ माघ २२ गते प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पहिलो सिनेट बैठकले शिक्षक तथा कर्मचारी सेवाको सर्त तथा सुविधा सम्बन्धी नियमावली, २०७४ लाई आवश्यक परिमार्जन गरी ७ दिनभित्र सहकुलपति तथा स्वास्थ्यमन्त्री समक्ष पेश गर्ने निर्णय गरेको थियो। तर सचिवले १० दिन बितिसक्दा पनि परिमार्जन समितिको बैठक बसाउन मानिरहेकी छैनन्।
अवरोधका बीच प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारी जिम्मेवारी सम्हालेर काम अगाडि बढाउन तयार रहेको बताउँदै आएकी छिन्। तर मन्त्रालयले वातावरण बनाउन नसकेको उनको भनाइ छ।