धनगढी– प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र मन्त्रीहरुले आइतबार पदवहाली गरेका छन्। पदवहाली गरे लगत्तै मन्त्री भट्टले सेती अञ्चल अस्पतालको छड्के निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा अस्पतालमा बिरामीको चाप धान्ने क्षमता नपाइएको मुख्यमन्त्री भट्टले बताए। उनले अस्पतालको सुधारका लागि प्रदेशले काम गर्ने समेत उल्लेख गरे।
‘जुनसुकै हालतमा जनताले सुविधा पाउनुपर्छ भनेर अस्पतालका कर्मचारीहरुलाई निर्देशन दिएको छु’, उनले भने।
मुख्यमन्त्री भट्टले अस्पतालमा राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गरिने बताए। उनले अनुगमनलाई निरन्तरता दिने, सुझाव दिँदा त्यस अनुसारको काम गरेको नपाइए अर्को पक्रिया अघि बढाउने बताए।
प्रदेश ७ का नौ वटै जिल्लाका मानिस अञ्चल अस्पतालमा सेवा लिन आउने भएकाले सेवा गुणस्तरीय बनाउन विषयगत मन्त्रालयलाई निर्देशन दिने मुख्यमन्त्री भट्टले बताए।