पर्सा- वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि उपचारका लागि अस्पताल आउने बिरामीले समस्या खेप्नुपरेको छ।
एक घण्टामा ६० जना बिरामीको रगतबाट २०० भन्दा बढी प्रकारको परीक्षण गर्ने अटोमेटिक बायो–केमेस्ट्री एनलाएजर मेसिन एक सातादेखि बिग्रिएपछि सेवाग्राहीले उपचारमा कठिनाइ भोग्नुपरेको छ।
प्रयोगशालामा रहेको दुवै एनलाएजर मेसिन बिग्रिएपछि एक घण्टामा हुने कामलाई चार घण्टा समय लाग्ने गरेको प्रयोगशालाका मेडिकल टेक्निसियन हीराबाबु पाण्डेले जानकारी दिए। उनले अटो एनलाइजरको तुलनामा मेनुबल मेसिनबाट काम गर्दा रसायण र समय दुवै बढी लाग्ने गरेको बताए।
ल्याबमा रहेका एनलाएजर मेसिन बिग्रेको अस्पताल प्रशासनलाई जानकारी गरिएको भए पनि हालसम्म बनाउने पहल नभएको टेक्निसिएन पाण्डेले जानकारी दिए।
उनले दैनिक अढाइ समयदेखि ३०० को हाराहारीमा बिरामीको रगत, पिसाबलगायतको परीक्षण हुने गरेको र एनलाइजर मेसिन सञ्चालन नहुँदा बिरामीले रिपोट पाउन एक दिन नै कुर्नु पर्ने अवस्था रहेको बताए।
वीरगञ्ज र यस आसपासका बिरामीलाई खासै समस्या नभए पनि टाढा टाढाबाट उपचारका लागि उपक्षेत्रीय अस्पताल आउने बिरामी एनलाइजर मेसिन बिग्रेको मार खेप्नुपरेको टेक्निसियन पाण्डेको भनाइ रहेको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेनट डा एनामुल हकले अस्पताललाई उपकरण आपूर्ति गरेका कम्पनीलाई उपकरणमा आएको खराबीबारे जानकारी गराइएको र दुई÷तीन दिनभित्र कम्पनीले इञ्जिनियर पठाई समस्या समाधान गराउने जानकारी दिएको बताए।
उनले छिमेकी चार जिल्ला र सीमावर्ती भारतीय सहरसमेतका बिरामीको चाप उपक्षेत्रीय अस्पतालमै रहेको जानकारी दिँदै ल्याबमा रहेको उपकरण तथा जनशक्तिलाई थपिने प्रयासमा भएपछि अस्पतालको आर्थिक परिस्थितिले साथ नदिएको मेडिकल सुपरिटेण्डेनट हकले बताए।
बारा, पर्सा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय सहरसमेतबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि आउने गरेको र सोमध्ये २५० देखि ३०० जना बिरामीको रोग पत्ता लगाउन चिकित्सकले प्रयोगशाला सेवाबारे सुझाव दिने गरेको जानकारी दिँदै सुपरिटेण्डेनट हकले प्रयोगशालासँगै अस्पतालको श्ययाको समेत क्षमता बढाउन प्रयास भइरहेको बताए।
बिग्रिएको उपकरणलाई चाँडोभन्दा चाँडो मर्मत गराई सेवा प्रवाह गर्न सर्वसाधारणले अस्पताल प्रशासनलाई आग्रह गरेका छन्। रासस