धनगढी– फागुन ६ गते अर्थात आईतबार डोटी जिल्ला अस्पतालका डाक्टर जितेन्द्र सिंहमाथि हातपात भयो । हातपातका कारण उनको टाउको, नाक, हात र शरीरका अन्य भागमा चोट लागेको छ । मथिल्लो एउटा दा“त भा“चिएको छ । डा.सिंहले बिरामीलाई एकछिन पर्खन आग्रह गरेको तर, पटक–पटक बिरामीलेनै अभद्र व्यवहार गरेको बताए ।
२०७३ जेठ २३ गते बैतडी जिल्ला अस्पतालका डा. गुणराज अवस्थीमाथि एम्बुलेन्स नदिएको आरोप लगाउँदै दुव्र्यवहार (कालोमोसो दलियो) भयो ।
२०७३ फागुन २९ गते सेती अञ्चल अस्पताल धनगढीको ईर्मेजेन्सी शाखामा राती तोडफोड गरियो । बिरामीको उपचार गर्नमा ध्यान नदिएको भन्दै अस्पतालमा आएका कुरुवाहरुले तोडफोड गरेका थिए।
माथि उल्लेखित केही प्रतिनिधित्व घटनामात्र हुन । अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सकहरु बिरामी तथा बिरामी कुरुवाहरुबाट असुरक्षित बन्दै गएका छन् । बिरामीहरुको अभद्र व्यवहारका कारण उनीहरु त्रसित बन्दै गएका छन् ।
अरुको उपचार गर्दै आएका डोटी जिल्ला अस्पतालका डाक्टर सिंह अहिले आफै उपचाररत अवस्थामा छन् । डोटी जिल्लाको केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी दरबन्दीमा मेडिकल अधिकृतका रुपमा कार्यरत डा. सिंह जिल्ला अस्पतालमा एक महिनाका लागि काजमा आएका थिए ।
‘दिउँसो साढे २ बजेतिर भिडियो एक्स–रेको काम भइरहेको थियो । लाइनमा थुप्रै थिए । एक जना बिरामीको पालो १४–१५ जनापछि थियो । तर, ती बिरामी सुरुदेखि नै कोठाभित्र छिरेर किचकिच गरिरहेका थिए । धेरै पटक बाहिर बस्नुस् भन्दा पनि मानेका थिएनन् । निरन्तर कराई मात्र रहेका थिए’ डाक्टर सिंहले भने ‘मैले ३–४ चोटि ‘बाहिर गएर बस्नुस् पालो आएपछि बोलाउँला’ भने तर पनि मानेनन् । त्यसपछि उनको भिडियो एक्सरे गर्ने पालो आयो । त्यति बेलासम्म उनको हामीसँग बोल्ने तरिका ठिक थिएन । थर्काएर ‘राम्रोसँग गर’ भन्न थाले । मैले उनलाई ‘म मेडिकल अधिकृत हो, भिडियो एक्सरेकै विषय पढेको विज्ञ डाक्टर होइन’ भनिरहेको थिएँ ।’
उनले बिरामीलाई आफुमाथि शंका लाग्छ भने अन्यत्र जान पनि सुझाव दिएको तर, बिरामीले नमानेको बताए । बिरामीको एक्सरे गरेपछि पनि उनीहरुले गुनासोको पोको ल्याएको डा. सिंहले बताए । उनका अनुसार बिरामीलाई उनले पैसा फिर्ता गरेर ओपिडिमा गएको र ओपिडिमै बिरामीका आफन्तले किचकिच गरेर हातपात गरेका थिए ।
अस्पतालमा अभद्र व्यवहार गर्नेहरुलाई आममाफी मगाई छोड्ने प्रवृतिले चिकित्सकमाथि दुव्र्यवहार बढ्दै गएको सम्बन्धीत चिकित्सकहरुको गुनासो छ । डा. सिंहलाई आक्रमण गर्ने विजयसिंह विष्ट, टेकबहादुर विष्ट लगायतको टोलीलाई प्रहरीले पक्राउ गरेको भएपनि आममाफिमा छोड्न राजनीतिक दलहरुले दबाब दिईरहेको स्रोतले बताएको छ ।
एक वर्षअघि डा. अवस्थीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै केही दिन आकस्मिक सेवाहरु बन्द गरिएपनि दोषीलाई राजनीतिक दबाबपछि आममाफीमा छोडिएको थियो । सेती अञ्चल अस्पतालमा भएको तोडफोडमा क्षति भएको संरचनालाई मर्मत गर्ने भनेर छोडियो ।
नेपालको संविधानले स्वास्थ्य सेवा प्रवाहमा बाधा अड्चन पुर्याउने जो कोहीलाई पनि कारबाहीको व्यवस्था गरेको छ तर, व्यवहारिक रुपमा भने दोषीलाई उन्मुक्ति दिने परिपार्टी बढ्दै गएको छ।
बैतडी जिल्ला अस्पतालका डा. अवस्थीले ७ नम्बर प्रदेशका सबै अञ्चल अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा कार्यरत चिकित्सकहरु असुरक्षित रहेको बताए । ‘हामी दुर्गममा बसेर पनि आम सर्वसाधारण जनतालाई गुणस्तरिय सेवा प्रदान गर्न चाहन्छौं’ डा. अवस्थीले भने ‘तर, हामीमाथि हुने दुव्र्यवहारले हाम्रो मनोवल घटाउँदै लगेको छ।’
उनले चिकित्सकमाथि दुव्र्यवहार गर्ने, धम्की दिने लगायतका व्यक्तीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै ‘घटनाको सत्यतथ्य छानविन गरि जो दोषी देखिन्छ (चिकित्सको गल्ती छ भने चिकित्सकलाई, स्थानीय सरकार दोषी छ भने स्थानीय सरकार, अभिभावक वा बिरामी दोषी छन भने उनीहरुलाई) कारबाही गर्न जरुरी छ ।
अस्पतालमा न्यून सुरक्षा
७ नम्बर प्रदेशमा एक उपक्षेत्रीय अस्पताल, दुई अञ्चल अस्पताल र १२ वटा जिल्ला अस्पताल रहेका छन् । तर, तीनीहरुमा सुरक्षाको अवस्था दयनिय रहेको सम्बन्धीत अस्पतालका प्रमुखहरुले गुनासो गरेका छन्।
‘अस्पतालमा दुर्घटना, आत्महत्या लगायतका घटना हेर्नलाई एक जना हवलदार खटाईएको छ’ बैतडी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अवस्थीले भने ‘अस्पतालमा कुनै बिरामीका आफन्तले अभद्र व्यवहार गरेमा हवल्दारलाई पनि अप्ठ्यारो हुने गरेको छ ।’ उनले अस्पताल धेरै संवेदनशिल भएकाले सुरक्षा निकायहरु पनि गम्भिर हुनुपर्ने बताए।
धनगढीस्थित सेती अञ्चल अस्पतालमा अहिले दुई वटा हवल्दार राखिएको छ । उनीहरुले अस्पताल भित्रका गतिविधीहरु जिल्ला, क्षेत्रमा जानकारी गराउने काम रहेको कैलाली प्रहरी प्रमुख एंव प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए।
‘अस्पतालमा आकस्मिक सुरक्षा आवश्यक भए हामीले जिल्लाबाट टोली खटाउने गरेका छौ’ प्रहरी प्रमुख घिमिरेले भने ‘अस्पतालभित्र सुरक्षाका लागि खटाउन हामीसंग जनशक्ति छैन् ।’
डोटी जिल्ला अस्पतालका डा. सिंहले आफु प्रहरी र स्थानीयकै कारण बाच्न सफल भएको अनुभव सुनाए।
बझाङ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप रेग्मीले अस्पतालमा काम गर्ने चिकित्सकहरुलाई सुरक्षाको अनुभुति गराउन जरुरी रहेको बताए ।
‘अस्पतालमा विभिन्न प्रकारका मानिसहरु आउ“छन्,’ उनले भने ‘कोही जाड रक्सी खाएर आउँछन त कोही अभद्र बोली बोल्नेहरु । कतिलाई हामीले सम्हाल्न सक्छु तर, केहीबाट हामीले दुव्र्यवहार सहनुपरेको छ ।’
उनले देश संघिय संरचनामा गईसकेकाले स्थानीय तह, प्रदेश सरकारले चिकित्सकहरुलाई निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा काम गर्ने अवस्थाको सृजना गर्नुपर्ने बताए ।