काठमाडौं– अनाधिकृत रुपमा चिकित्सकीय कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिविक अस्पतालकी सञ्चालिका तथा अस्ट्रेलियन चिकित्सक छुटेका छन्। काठमाडौं जिल्ला अदालतको आदेशमा उनीहरु बुधबार छुटेका हुन्।
ठगी मुद्दामा जिल्ला अदालतले सञ्चालिका प्रतिभा पाण्डे र अस्ट्रेलियन चिकित्सक साराहा अन्ने केम्पलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।
विदेशी नागरिक चिकित्सकले नेपालमा चिकित्सकीय अभ्यास गर्न मेडिकल काउन्सिलबाट अनुमती लिनुपर्ने भए पनि पाण्डेले अनुमति बिनै अस्ट्रेलियन डाक्टरलाई काममा लगाउँदै आएकी थिइन्।
गत माघ १६ मा काउन्सिल र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अस्पतालमा छापामारी उनीहरुलाई पक्राउ गरेको थियो।
अदालतले पक्राउ परेका चाइना ग्रेटवाल हेल्थ सेन्टरका एक चिनियाँ चिकित्सकलाई जेल चलानको आदेश दिएको छ भने अर्का चिकित्सक साधारण तारेखमै छुटेका छन्। संचालक नारायण तिमिल्सना ५ लाख धरौटीमा छुटेका छन्।
सिआइबीले ठमेलको एपोलो इन्टरनेसनल पोलिक्लिनिकबाट ९ जना, सिवेकका २ जना, चाइना ग्रेट वाल सेन्टरका ३ जना, चाइना पिपल्स हस्पिटलका २ जना र चाइनिज डेन्टल अस्पतालका १ जनालाई पक्राउ गरेको थियो।