काठमाडौं- केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेको भागमा परेको छ। वाम गठबन्धनका प्रमुख नेताको सहमती अनुसार करिब १८ वटा मन्त्रालयमा एमालेले स्वास्थ्यसहित ९ वटा मन्त्रालय पाउने भएको छ। माओवादीले भने ७ वटा मन्त्रालय पाउने र हाललाई प्रधानमन्त्रीले २ वटा मन्त्रालय आफैँसँग राख्ने छन्। संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल भइरहेकाले प्रधानमन्त्रीले २ वटा मन्त्रालय तत्काललाई आफैंसँग राख्न लागेको प्रधानमन्त्री निकट स्रोतले बतायो।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुटेको सहमती अनुसार एमालेले स्वास्थ्यसहित, अर्थ लगायतका प्रभावशाली मन्त्रालय पाएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।
सरकार विस्तारपछि स्वास्थ्य मन्त्रालयमा जनसंख्या पनि आएर जोडिने छ। त्यसपछि मन्त्रालयको नाम स्वास्थ्य तथा जनसंख्या हुनेछ।