काठमाडौं– जीवनजल उत्पादनको १० महिनापछि नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन सुरु गरेको छ। उत्पादनको एक चौथाइ अर्थात् ८० हजार ट्याबलेटलाई परीक्षणमा लैजाने तयारी गरिएको छ।
औषधि लिमिटेडका महाप्रवन्धक रोवस कुसुम सुवेदीले उत्पादित सिटामोलको एक चौथाई परीक्षणमा पठाउने तयारी भइरहेको बताए।
परीक्षणको नतिजा एक हप्ताभित्र अाउने उनले बताए। परीक्षणका क्रममा आउने प्रतिक्रियाअनुसार व्यापारका लागि सिटामोल उत्पादन गरिने सुवेदीले बताए।
'औषधि उत्पादन भवन निर्माण भइसकेको छ। मेसिनहरु समयमै आए पनि जडान गर्ने इञ्जिनियर भारतबाट ढिला आइपुग्दा तोकिएको समयमा सिटामोल उत्पादन गर्न सकिएन,' उनले भने।
महाप्रवन्धक सुवेदीले थपे, 'औषधिको गुणस्तर कस्तो छ? जाँच गरेपछि मात्र हामीले बजारमा लैजाने औषधि उत्पादन गर्ने हो, त्यसका लागि समय लाग्छ,’ उलने भने, ‘फागुन महिनाभरिमा औषधि बजारमा लैजानेगरी तयारी गरिरहेका छौं।’
जीवनजल उत्पादनपछि त्यसको मागअनुसार आपूर्ति गर्न नसकेको उनी बताउँछन्। त्यसैले, सिटामोल उत्पादन गरेर बजारमा पठाउनुअघि स्टक राखेर मात्र पठाउने योजना बनाएको सुवेदीले जानकारी दिए। त्यसका लागि औषधिका १५ लाख चक्की उत्पादन गर्नुपर्ने उनको भनाइ छ।
‘औषधिको माग धेरै छ । स्वास्थ्य मन्त्रालयले वार्षिक १३ करोड प्यारासिटामोल चाहिने बताइरहेको छ। त्यसबाहेक अस्पतालहरुले किन्ने छुट्टै छ,’ उनले भने, 'बजारको माग पूरा गर्न उत्पादन क्षमता बढाउन जरुरी छ।'
सुवेदीका अनुसार अहिले उद्योगमा एक लटमा ३ लाख २० हजार ट्याबलेट सिटामोल उत्पादन गर्ने क्षमता छ। यति उत्पादन गरेर तयार पार्न ३ देखि ४ दिनको समय लाग्छ।
‘अहिले जुन मेसिनहरु प्रयोग गरेर औषधि उत्पादन गर्न लागेका छौं,’ उनले भने, ‘हामी यसमा नयाँ छौं। त्यसैले कस्तो बन्छ? के खराबी हुन्छ? सबै परीक्षण गर्नुपर्छ। त्यसपछि मात्रै बजारमा पठाउनेगरी उत्पादन गर्ने हो।’
लामो समय बन्द भएको औषधि लिमिटेड गत वर्षदेखि सञ्चालनमा आएको थियो। सञ्चालनमा आएपछि जीवनजल तथा डिस्टिलरी वाटर उत्पादन गर्दै आएको छ। लिमिटेडले गत वैशाख २४ बाट जीवनजल उत्पादन गरी बजारमा पठाएको हो।
सुवेदीले भने, 'उत्पादन प्रक्रिया 11 संगठनले तोकेको कुशल उत्पादन अभ्यास (जिएनपी ) अनुसार छ। गुण तथा नापतौल नियन्त्रण विभागको मापदण्ड अनुसार प्रयोगशाला बनाइएको छ।'
औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा लिमिटेड स्थापना भएको थियो। उद्योगले २०६० सालसम्म आइपुग्दा १ सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो। तर, 11 संगठनको मापदण्ड जिएमपी पूरा गर्न नसकी २०६७ सालदेखि उद्योग बन्द भएको थियो।