धनगढी– डाक्टरमाथि आक्रमण गर्नेलाई धरौटीमा समेत नछुट्ने गरी जेल चलान गर्नुपर्ने चिकित्सकहरुले माग गरेका छन् । सुदूरपश्चिम चिकित्सक संघ सुप क्षेत्रीय शाखाले बिहिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो।
डोटी जिल्ला अस्पतालका डा. जितेन्द्र सिंहमाथि हातपात गर्नेलाई कुनैपनि हालतमा धरौटीमा छोड्न नहुने संघका अध्यक्ष डा. प्रमोद जोशीले माग गरे । बिरामीको उपचारमा खटिएका डाक्टरमाथि सांघातिक हमला हुन थालेको भन्दै उनले चिकित्सकहरुलाई सुरक्षा अनुभूती हुने गरी सुरक्षा नीति ल्याउन ७ नम्बर प्रदेश सरकारसँग माग गरे।
‘विभिन्न समयमा कुनै न कुनै तरिकाले चिकित्सकमाथि आक्रमणहरु भइरहेका छन्,’ डा. जोशीले भने, ‘यसले गर्दा चिकित्सक असुरक्षित बन्ने र त्यसता ठाउँमा पुनः काम गर्न जान अन्य चिकित्सक पनि डराउने अवस्था भइरहेका छन् ।’ उनले निःस्वार्थ २४ सै घण्टा सेवामा खटिने चिकित्सलाई राज्यले सुरक्षाको अनुभूती गराउन नसकेको बताए।
‘चिकित्सकीय मर्यादा पालना गर्दागर्दै चिकित्कमाथि नै सांघातिक हमला गरी गम्भीर घाइते बनाइएको घटनाका सम्बन्धमा समेत कपोलकल्पित आरोपु लगाउँदै उल्टै चिकित्सकलाई बदनाम गर्ने, भौतिक कारबाही गर्छौं भन्दै मानसिक तनाव दिने गरिएको छ,’ उनले भने ‘सम्पूर्ण चिकित्सकले यस प्रकारको त्रसिदपूर्ण वातावरणमा स्वास्थ्यसेवा निर्वाध रुपमा प्रवाह गर्न नसक्ने विद्यमान परिस्थिति रहेको छ।’
घटनाका पिडित डा जितेन्द्रकुमार सिंहले उनीहरु ज्यान मार्ने उद्देश्यलेनै आएको आरोप लगाए। उनले दोषीलाई प्रहरीले पक्राउ गरेपनि राजनीतिक दबाबमा छोड्ने प्रयास भइरहेको आरोप लगाए।
पिडकहरुमाथि मुद्दा दायर भएपछि विभिन्न राजनीतिक दलहरुबाट धम्की, आक्षेपहरु खेप्नुपरेकाले डोटी छोडेर धनगढी पुगेको गुनासो गरे । उनले आफूहरु पुनः डोटी जिल्लामा काममा फर्कन सक्ने वातावरण नभएको पनि बताए।
उनीसँगै लक्ष्मीनगर स्वास्थ्य केन्द्रका डा. राजकुमार विक र शैलेश्वरी अस्पतालका डा. सुरज रिजाल पनि धनगढी पुगेका छन्। उनीहरु धनगढीबाट काठमाडौं प्रस्थान हुने जनाएका छन् । डा. सिंहको घटनाको विरोधमा जिल्लाका डाक्टरले मंगलबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।