काठमाडौं- सरकारले २६ महिनापछि स्वास्थ्यमा पुन: जनसंख्या मन्त्रालय समायोजन गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा जनसंख्यालाई जोड्ने निर्णय गरेको हो। यो निर्णयसँगै अब संघीय नेपालमा ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’ रहनेछ।
एउटै मन्त्रालयका रुपमा रहेको स्वास्थ्य तथा जनसंख्यालाई २०७२ पुस ९ गते छुट्याइएको थियो। स्वास्थ्यबाट जनसंख्या छुट्याउने तत्कालीन सरकारको प्रधानमन्त्री केपी ओली नै थिए। उनले स्वास्थ्यबाट फुटाइएको जनसंख्या र विज्ञान तथा वातावरणबाट फुटाइएको वातावारण मिलाएर 'जनसंख्या तथा वातावरण' भनेर नयाँ मन्त्रालय बनाएका थिए ।
यसबीचमा तीन वटा सरकार फेरिएर प्रधानमन्त्रीमा पुन: ओली नै आइपुगेका छन्। आज उनकै नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्यासहित केन्द्रमा १७ मन्त्रालय राख्ने निर्णय गरेको हो।
स्वास्थ्यमा जनसंख्या राख्ने र झिक्ने काम विगतमा पनि हुँदै आएको थियो। स्वास्थ्यमा जनसंख्या मन्त्रालयलाई २०६१ सालमा जोडिएको थियो। त्यसको १२ वर्षपछि ०७२ मा फुटाइएको मन्त्रालय पुन २६ महिनापछि जोडिएको हो।