काठमाडौ- काठमाडौं महानगरपालिकाले स्वस्थ सहर (हेल्दी सिटिज) अभियानको सुरुवात गरेको छ। धुम्रपान र सूर्तीजन्य पदार्थबाट हुने असर न्यूनिकरण गरी वातावरणलाई स्वच्छ राख्न भन्दै महानगरपालिकाले हेल्दी सिटिज कार्यक्रमको सुरुवात गरेको हो।
अभियानको बोरमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारण निम्तिने मुटुरोग, मधुमेह, दम, खोकी, क्यान्सर लगायतका रोगबाट बच्न अभियानको थालनी गरिएको जानकारी दिए।
महानगरले बुलुम्बर्ग फिलानट्रोपिज, भाइटल स्ट्राटेजीजसंगको सहकार्यमा हेल्दी सिटिज कार्यक्रमको सुरुवात गरेको हो । यो कार्यक्रम लागू गर्ने विश्वका पचास शहरमा काठमाडौं पनि भएको छ । अभियान अन्तर्गत आगामी डिसेम्बरसम्म काठमाडौंका सार्वजनिक स्थानलाई ‘जिरो स्मोकिङ्ग’ महानगर बनाउने लक्ष्य लिइएको छ।
‘अब सार्वजनिक स्थालमा धुम्रपान र सुर्तीजन्य पद्धार्थको सेवन कार्य रोकिन्छ,’ उनले भने, ‘यसको कार्यान्वयनकालागि महानगरपालिकाले अनुगमनलाई प्रभावकारी बनाउँछ।’ सरकारी कार्यालय, शिक्षण संस्था, विमानस्थल, उद्योग तथा कलकारखाना, रेष्टुरेण्ट, डिपार्टमेन्ट स्टोरलगायतका सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न प्रतिबन्ध लगाइएको छ।
यसैगरी, अभियानका क्रममा १८ बर्ष नपुगेका बालबालिका र गर्भवतीलाई सुर्तीजन्य पद्धार्थ बिक्री गर्नेलाई पनि कारबाही हुनेछ। बालबालिकाको उमेर यकिन गर्न परिचयपत्र माग्नुपर्ने बताइएको छ।
कुनै बिक्रेताले बालबालिका र गर्भवतिलाई धुम्रपान वा सूर्तीजन्य पद्धार्थ बेचेको भेटिए दश हजार रुपैयाँ जरिवाना गरिने जनाइएको छ । यस्तै सुर्तीजन्य पदार्थ निःशुल्क वितरण र उपहार दिनसमेत बन्देज गरिएको छ भने खुल्लास्थानमा बिक्रि वितरणका लागि राख्न र प्रदर्शनी गर्न समेत रोक लगाइएको छ।
सन् २०१३ को एनसिडी रिक्स फ्क्टरर्स स्टेपस् सर्वेक्षणका अनुसार नेपालमा हाल ३०.५ प्रतिशतले कुनै किसिमको धुम्रपान तथा सुर्तिजन्य पर्दाथको सेवन गर्दछन् भने ३६.१ प्रतिशत सेकेण्ड हेन्ड स्मोकिङ घर तथा कार्यस्थलमा छन् । 11 संगठनको तथ्याङ्ग अनुसार नेपालमा नेपालका १५ प्रतिशत नेपालका महिला विश्वकै सबैभन्दा बढी धुम्रपान गर्नेमा पर्छन ।