काठमाडौं- स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा विनोदमान श्रेष्ठले पदवहाली गरेका छन्। महानिर्देशकमा नियुक्त भएको ९ दिनपछि विभागमा पुगेर उनले जिम्मेवारी सम्हालेका हुन्।
डा श्रेष्ठले अबको १० दिनपछि उमेरका आधारमा अनिवार्य अवकाश पाउँदैछन्। अवकासको दिन नजिकिएको समयमा आफूलाई जानकारी नै नदिइ महानिर्देशकको जिम्मेवारी दिएकोमा डा श्रेष्ठले असन्तुष्टि जनाएका थिए। सोही कारण उनले महानिर्देशकको जिम्मेवारी पाउँदा समेत पदवहाली गरेका थिएनन्।
विभागको महानिर्देशकमा १२ औं तहका कर्मचारी रहने व्यवस्था रहेको र आगामि दिनमा यही व्यवस्थालाई निरन्तरता दिने सहज हुने भन्दै सहकर्मीको आग्रहपछि उनले आज पदवहाली गरेका हुन्।
निर्वतमान स्वास्थ्य मन्त्री दीपक बोहराले गत पुस ३० गते विभागका निमित्त महानिर्देशक डा राजेन्द्र पन्तलाई हटाएर डा तारानाथ पौडेललाई नियुक्त गरेपछि महानिर्देशकमा विवाद उत्पन्न भएको थियो।
डा पन्तले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए। सार्वेच्चले डा पन्तलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशपछि मन्त्रीले महानिर्देशकमा डा पन्तलाई काम गर्न नदिन नयाँ महानिर्देशकका रुपमा डा श्रेष्ठलाई ९ दिनअघि नियुक्त गरेका थिए। महानिर्देशकको जिम्मेवारी पाउँदा डा श्रेष्ठ विदेशमा थिए।