रुपन्देही – गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको लागि निःशुल्क एसी बस सेवाको शुक्रवारदेखि शुभारम्भ गरिएको छ । अस्पतालमा सेवा लिन आउने बिरामी र बिरामीका आफन्तहरुलाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले बस सेवा सञ्चालन गरिएको हो।
पहिलो चरणमा बुटवलको गोलपार्कदेखि तिलोत्तमा मणिग्रामसम्मका सर्वसाधारणलाई अस्पतालसम्म ल्याउने र अस्पतालदेखि पुनः गोलपार्क हुँदै मणिग्रामसम्म निःशुल्क सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । निजी सवारी साधन नभएका सर्वसाधारणलाई अस्पताल जान र घर फर्किन समस्या भएको भन्दै रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलले ५३ लाखको लागतमा निःशुल्क बस सेवा सञ्चालन गरेको हो।
बस सेवा शुभारम्भ गर्दै प्रदेश सरकारका भौतिक योजना तथा निर्माण मन्त्री बैजनाथ चौधरीले समुदाय स्तरबाट सञ्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले नागरिकहरुलाई प्रदान गरेको सेवा अनुकरणीय रहेको बताए । उनले सेवा दिनु मात्र ठूलो कुरा नहुने भन्दै गुणस्तरीय सेवा प्रदानमा निरन्तर ध्यान दिन आग्रह गरे ।
मन्त्री चौधरीले बुटवललाई ५ नम्बर प्रदेशको स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास गर्ने प्रदेश सरकारको प्रतिबद्धता अनुरुप मुटु अस्पताललाई पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अस्पतालको जग्गा प्राप्ती र भवन निर्माणको लागि प्रदेश सरकारसँगै स्थानीय सरकारको तर्फबाट बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकालाई पनि आवश्यक सहयोग गर्न आग्रह गरे।
अस्पतालका अध्यक्ष एजाज आलमले जग्गा प्रँप्त नहुँदा साँघुरो स्थानबाट सेवा प्रदान गर्न बाध्य भएको भन्दै जग्गा प्राप्तीको लागि सबै तहबाट आवश्यक पहल गर्न आग्रह गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सरकारले नागरिकलाई दिनुपर्ने सेवा मुटु अस्पतालले उपलब्ध गराएको भन्दै आगामी नगरसभाबाट अस्पतालको लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे।
वक्ताहरुले क्लबले उपलब्ध गराएको बसबाट बुटवल र तिलोत्तमा बासीले नै धेरै लाभ लिन सक्ने भन्दै बससेवाको नियमित सञ्चालनमा पनि सहयोग गर्ने बताए । सो अवसरमा रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष अभिशेक गुप्ताले अस्पतालका अध्यक्ष एजाज आलमलाई बसको चावी हस्तान्तरण गरेका थिए।
कार्यक्रममा अस्पतालका निर्देशक डा. समिर गौतम, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारी, रोट्र्याक्ट डिष्ट्रिक ३२९२ का डिआरआर सुरज पौडेल, रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष अभिषेक गुप्ता, संस्थापक अध्यक्ष सुमन बस्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अस्पतालका उपाध्यक्ष रामप्रसाद बस्यालको स्वागत तथा सचिव दिनेशराज रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।