रुपन्देही– लुम्बिनी अञ्चल अस्पताल बुटवल आफ्नो हराएको जग्गाको खोजीमा लागेको छ । २०५२ सालसम्म ८ विगाह ४ कठ्ठा साढे ९ धुर जग्गा अस्पतालको नामको लालपुर्जामा रहेको भएपनि अहिले त्यो घटेर ६ विगाह ७ कट्ठा साढे १६ धुरमात्र छ।
बिरामीको चापसँगगै अस्पतालको भौतिक संरचना विस्तार गर्नुपर्ने भएपछि अस्पतालले हराएको जग्गा खोजी गर्न थालेको बताएको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेसु डा कृष्ण खनालले भने, ‘हाम्रो हराएको जग्गा खोजीमा छौं । हामीले जिल्ला मालपोत नापी बुटवल उपमहानगरपालिका जिल्ला प्रशासन कार्यालयमा खोजीको लागि पत्र पठाएका छौं।’
नापी र मालपोतलाई हाम्रो जग्गा कसरी अहिले कम भएको जानकारीका लागि पत्र लेखेको बताए । के कारणले जग्गा पुगेको छैन वा कसले मिचेको छ भनेर जानकारी मागेको बताए।
खनालले भने, ‘सरकारले ३ सय र समितिबाट १ सय गरि चार सय सैयाको अस्पताल स्तरवृद्धि भएको र आफुहरुलाई सेवा बिस्तार गर्न समस्या भएकोले जग्गा आवश्यक छ।’ उनले अस्पतालको छेउमा बन कार्यालयको डेढ बिगाह जति जग्गा रहेको र हराएको जग्गाको सट्टामा उक्त जग्गा अस्पतालले प्राप्त गरे सहज हुने उनले बताए। दैनिक ७ सयदेखि एकहजार भन्दा बढी बिरामी आउने अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए। उनकाअनुसार अस्पताललाई डाक्टर आवासदेखि अरु भवन बनाउन ठाउँ जरुरी रहेको उनी बताउँछन्।