गोरखा– गोरखालाई ‘पूर्ण खोपयुक्त जिल्ला’ घोषणा कार्यक्रमलाई 'तामझाम' बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नै 'चन्दा संकलन' मा लागेका छन्। प्रमुख केदार पराजुली नेतृत्वको समितिले जिल्लामा क्रियाशील विभिन्न संघसंस्थासँग 'सभा सम्पन्न गर्न' भन्दै मोटो रकम माग गर्दै पत्र पठाएका हुन्। जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी संस्थाहरूलाई उक्त समितिले रकम मागसहित पत्राचार गरेको हो।
‘हामीसँग सहयोग गर्ने ठाउँ छैन, बजेट एकदमै कम छ। जनस्वास्थ्यका लागि सहयोग गर्नुपर्यो भनेर पत्र र दबाब आइरहेको छ,’ एक संस्थाका कर्मचारीले भने। जनस्वाथ्य कार्यालयले गोरखाका ११ वटै स्थानीय तहलाई पत्र लेख्दै आर्थिक सहयोग माग गरेको छ। नगरपालिकालाई १ लाख र गाउँपालिकालाई ५० हजार रकम तोकेरै पत्र पठाएको पाइएको हो।
एनजिओ आइएनजिओलाई भने रकमको परिमाण नतोकी पत्र पठाएपछि ती संस्थाका कर्मचारी अन्योलमा परेका छन्। अन्य कुनै स्रोतबाट चन्दा दिँदा बेरुजुमा पर्न सक्ने भन्दै सहिद लखन गाउँपालिकाका प्रमुख रमेश थापा भन्छन्, 'चन्दा मागेर तामझामका साथ कार्यक्रम गर्नु उपयुक्त कि अनुपयुक्त हुने कुरा सम्बन्धित कार्यालयले बुझ्न जरुरी छ।'
दातालाई मुख्यमन्त्रीको नामबाट प्रमाणपत्र दिइने उल्लेख गरेर पत्र आएपछि एनजिओ, आइएनजिओहरु पनि अलमलमा परेका छन्। ‘बाजागाजा बजाएर, रामरमिता गरेर पैसा नसकौँ भन्ने हाम्रो पनि भनाइ हो,’ केयर नेपालका गोरखा प्रमुख माधव ढकालले भने, ‘जिल्लालाई पूर्ण खोप घोषणा गर्न आर्थिक सहयोग गरिदिनुहोला भन्ने आसयको पत्र आएको छ। पत्रमा आर्थिक सहयोग गर्ने संस्थालाई मुख्यमन्त्रीबाट प्रमाणपत्र दिने भनिएको छ।’
तर जनस्वास्थ्य प्रमुख पराजुली भने स्थानीयतहको समेत कार्यक्रम भएकाले सहयोगको लागि अपिल गरिएको तर्क गर्छन्। ‘विभागबाट जम्मा २ लाख ४० हजार रुपैयाँ आएको छ’, पराजुलीले भने, ‘स्थानीय तहसँग समन्वय गरी कार्यक्रम गर्नुपर्ने भएकाले थप रकमका लागि पत्राचार गरेका हौं।’ संघसंस्थाबाट संकलन गरेर १० लाख रुपैयाँ पुर्याउने योजना रहेको उनले बताए।
विभागबाट प्राप्त रकममा थप गरेर कार्यालयले 'तामझामपूर्ण कार्यक्रम' गर्ने तयारी थालेको हो। कार्यालयले खर्च शीर्षकको प्रस्तावनापत्र समेत तयार गरेको खोप शाखाका ऋषिराम खत्रीले जानकारी दिए।
‘ठ्याक्कै १० लाख खर्च हुन्छ भन्न नसकेपछि अनुमानित खर्चसूची बनाएर स्थानीय तह र संघसंस्थामा पठाएका छौं’, खत्रीले भने, ‘माथिबाट प्राप्त बजेटले कार्यक्रम गर्न नसकिने भएकाले यसो गर्न खोजिएको हो।’
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष किशोरजंग थापा भने तामझाम गरेर पैसा उडाउनुको अर्थ नरहेको बताउँछन्। ‘खुला दिसामुक्त, धुवाँमुक्त घोषणा गरेको कार्यक्रम प्रभावकारी भएकै छैन’, उनले भने, ‘यसरी तामझाम गर्नुको सट्टा कुनै गाउँमा पोषणकै कार्यक्रम गर्नु उचित हुन्छ।’
जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनमा फागुन १६ गते पूर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी थालिएको छ।