काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हृयदेश त्रिपाठीले पाउने सम्भावना बढेको छ। प्रतिनिधिसभा निर्वाचनअघि मधेसी मोर्चा छोडेर बसेका त्रिपाठी नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट उठेका थिए। उनले नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका हुन्।
नेकपा एमाले स्रोतका अनुसार सोमबार विस्तार हुने मन्त्री मण्डलमा त्रिपाठी स्वास्थ्य मन्त्री बन्ने सम्भावना बलियो छ। ओली सरकारमा एमाले र माओवादी केन्द्रले ७–७ वटा मन्त्रालय आफ्नो भागमा राखेका छन् भने मधेशवादी दललाई सरकारमा समावेश गराउन तीन वटा मन्त्रालय छुट्टयाइएको छ।
‘संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कुरा भएपछि कुन मन्त्रालय कसले पाउने भन्ने कुराको निक्यौंल हुनेछ,’ श्रोतले भन्यो। सोमबार दिउँसो ३ बजे नवनियुक्त मन्त्रीको सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ।