काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रेन वाटर हार्भेस्टिङ प्रणालीको सुरुवात भएको छ । वर्षात्को पानी जम्मा गर्ने प्रणाली (हार्भेस्टिङ ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रमको सुरुवात भएको हो । स्मार्ट पानी प्रा.लि.ले बोटलर्स नेपालको सहयोगमा अस्पताललाई सोमबार उक्त प्रणाली एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो।
अस्पतालका निर्देशक प्रोफेसर डा दिपक प्रकाश महराले पहिलो आर.डब्लु.एच र जी.डब्लु.आर योजना शिक्षण अस्पतालबाट सुरु गर्न पाएकोमा आभार प्रकट गरे । उनले भने, ‘यो प्रणालीले अस्पतालको क्षमता वृद्धिमा निकै सहयोग पुग्ने विश्वास लिएको छु ।’ बोटलर्स नेपाल र स्मार्ट पानीलाई यो योजना यस अस्पतालमा सफलता पूर्वक कार्यान्यवन गर्न सहयोग गरेकोमा आभार प्रकट गरे।
स्मार्ट पानी प्रा.लि.का प्रबन्ध निर्देशक सुमन शाक्यले ८ वटा रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज प्रणाली सञ्चालन गर्न पाउँदा खुशी लागेको बताए । बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनले यस योजनाले संस्था र समुदायहरुलाई बर्षातको पानी संकलन गर्ने योजनामा ठुलो सहयोग पुग्ने बताए।
‘हामी हाम्रो सामाजिक कार्यप्रति प्रतिबद्ध छौं । विश्वभर नै कोकाकोलाले यस्ता सामाजिक कार्य गर्दै आएको र अहिले पानीको समस्या समाधानको लागि सिर्जनशील समाधानको खोजीका रुपमा यो काम गरिएको हो,’ उनले भने ।