काठमाडौं- छैटौं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरका ४ जना स्वास्थ्यकर्मीले 'स्वास्थ्य सेवा पुरस्कार' प्राप्त गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा बिहान आयोजित विशेष समारोहमा सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले उनीहरुलाई पुरस्कृत गरे।
पुरस्कार पाउनेहरुमा झापा शान्तिनगरका सिनियर अहेब दीपक सापकोटा, यदुकुदा आयुर्वेद औषधालय धनुषाका कविराज अधिकृत राम छविला यादव, वीर अस्पतालकी स्टाफ नर्स उजेली पछाई र सिन्धुली अस्पतालकी गाइनोकोलोजिस्ट डा सुमित्रा गौतम रहेकी छन्।
आर्थिक वर्ष २०७३/०७४ मा गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले उनीहरुलाई पुरस्कृत गरेको हो।
‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार’ भन्ने नाराका साथ आज स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्य सेवा दिवस मनाइरहेको छ।