रुपन्देही– लुम्बिनी अञ्चल अस्पतालले स्थापनाको १ सय ८ वर्ष पूरा गरेको छ।
राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा ६ शय्याबाट स्थापना गरिएको अस्पताललाई समय क्रममा सेवा र क्षमता विस्तार गरिँदै २०७२ सालमा सरकारको ३ सय र विकास समितिको एक सय गरी ४ सय शय्याको बनाइए पनि भौतिक पूर्वाधारको अभावमा अहिले २ सय १० शय्यामा सञ्चालन भइरहेको छ।
पूर्वाधारका साथै आवश्यकता अनुसारका दक्ष जनशक्तिको अभावमा स्वीकृत शय्या सञ्चालन गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले बताए।
२०१६ सालमा निर्माण गरिएको भौतिक पूर्वाधारमै अझैसम्म अस्पताल सञ्चालन गर्नुपरेकाले थप भौतिक पूर्वाधार निर्माण नगरी स्वीकृत शय्या अनुसार सञ्चालन गर्न नसकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालले बताए।
लुम्बिनी अञ्चल अस्पतालमा सरकारीतर्फ ३ सय ४२ जनाको दरबन्दी छ भने अस्पताल विकास समितितर्फ १ सय ६२ जनाको स्थायी दरबन्दी छ। विकास समितिमार्फत अहिले २ सय ३५ जना कर्मचारी काममा छन्। जसमध्ये दरबन्दीभन्दा बढी कर्मचारी ४३ जना करारमा हुन् भने ३० जना दैनिक ज्यालादारीका हुन्।
अस्पताल विकास समितिले गर्ने राजनीतिक नियुक्ति र आफू अनुकूल हुनेगरी दरबन्दीभन्दा बढी कर्मचारी राख्दा पनि दक्ष जनशक्तिको अभाव भइरहेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा सबै पक्ष नराम्रा मात्र नभई राम्रा पनि भएकाले सुधार गर्दै जाने हो भने धेरै काम गर्न सकिने पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र राजेन्द्र खनालले बताए।
लुम्बिनी अञ्चल अस्पतालमा हाल जनरल मेडिसिन, जनरल सर्जरी, बालरोग, अर्थोपेडिक सर्जरी, नाक कान घाँटी, स्त्री तथा प्रसूति, दाँत, छाला, मानसिक रोग, मुटु रोग, आन्द्रा तथा पेट, प्याथोलोजी र रेडियोलोजी सेवा गरी १३ विभागीय सेवा प्रदान गर्दै आएको मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालले बताए।
अस्पतालमा दक्ष जनशक्ति र भौतिक पूर्वाधार मात्रै नभई अहिलेको ठाउँ समेत साँघुरो भएको मेडिकल सुपरिटेन्डेन्ट डा खनालको भनाइ छ। २०५२ सालमा नापी कार्यालयले दिएको विवरण अनुसार लुम्बिनी अञ्चल अस्पतालको जग्गा ८ बिगाहा ८ कट्ठा रहेकोमा अहिलेको विवरणमा ६ बिगाहा १२ कट्ठा मात्रै छ। अस्पतालको १ बिगाहा १६ कट्ठा जग्गा हराएको भन्दै यसको खोजी गरिदिन राजनीतिक दल र सामाजिक संघसंस्थालाई अस्पताल प्रशासनले आग्रह गरेको छ।
अस्पताल स्थापना भएको १ सय ८ वर्ष पूरा भएको अवसरमा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ।