काठमाडौं- भारतको एपोलो अस्पताल र सांग्रिला विकास बैंकबिच उपचार शुल्कमा छुट दिने विषयमा द्धिपक्षिय सहमति भएको छ। अस्पताल र बैंकबिच बैंकका ग्राहक, शेरधनी, कर्मचारी र तिनका परिवारले उपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको हो।
अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक अशोक बाजपाई र बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। सम्झौतापत्रमा उल्लेख भए अनुसार उक्त सेवा लिनका लागि बैंकका ग्राहक, शेयरधनि, कर्मचारीले भिसा डेबिट कार्ड लिएको हुनपर्ने छ।
उक्त कार्ड लिएर अस्पताल पुगेका बिरामीले अन्यत्र एटिएम कार्डमा जस्तो निश्चित रकम निकाल्ने र पैसा निकाल्दा थप पैसा काटिने झन्झटबाट पनि मुक्ति पाउने अस्पतालका प्रबन्ध निर्देशक बाजपाईले जानकारी दिए । उनका अनुसार एपोलो अस्पतालमा मात्र नेपालबाट वार्षिक ६० हजार बिरामी उपचारका लागि जाने गर्छन्।
यो सम्झौतापछि बैंकका ३ लाख भन्दा बढी ग्राहक, १५ हजार भन्दा बढी शेरधनी, ४ सय भन्दा बढी कर्मचारी र तिनका परिवारले सर्वसुलभ तरीकाबाट गुणस्तरीय उपचार सेवा पाउने बैंकका अध्यक्ष डा रविन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए।
बाजपाईका अनुसार एपोलो अस्पतालको काठमाडौंस्थित सुचना केन्द्रबाट सिधै अस्पतालसँग समन्वय गर्न सकिने र उपचारका लागि अग्रिम समय लिन समेत सकिने छ। अग्रिम जानकारी दिएर उपचारका लागि आउने बिरामीलाई एयरपोर्टमा लिन जाने र डिस्चार्जपछि छोड्नेसम्मको सुविधा दिइने छ।
‘अस्पतालले नेपाली बिरामीलाई भारतीय बिरामी सरहको शुल्क लिने र सम्झौतापछि त्यसमा पनि छुट दिने व्यवस्था गरेको हो’ बाजपाईले भने, ‘यो सम्झौता अनुसार सेवा लिन जाने नेपालीले भारतीय भन्दा पनि सस्तोमा उपचार पाउने भएका छन्।’ उनले एपोलो अस्पताल दक्षिण एसियाकै उत्कृष्ट अस्पतालमध्ये एक भएको दाबी पनि गरे।