काठमाडौं- नेपाल मेडिकल काउन्सिलले काउन्सिलमा नागरिकको पहुँच बढाउन र काउन्सिलमा आउने गुनासा तथा समस्याको समाधान गर्न ‘फ्रेन्ड्स अफ नेपाल मेडिकल काउन्सिल’ गठन गरेको छ।
काउन्सिलले स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा ‘फ्रेन्ड्स अफ नेपाल मेडिकल काउन्सिल’ गठन गरेको हो। काउन्सिलको सल्लाहकारका रुपमा रहने उक्त समितिमा न्याय क्षेत्रका लोकेन्द्र मल्लिक, प्रशासन क्षेत्रका शान्तबहादुर श्रेष्ठ, पत्रकारिता क्षेत्रबाट युवराज घिमिरे, कलाकारका तर्फबाट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्व सांसद रञ्जु झा र सुरक्षा क्षेत्रबाट कुबेरसिंह राना छन्।
काउन्सिल अध्यक्ष डा धर्मकान्त बास्कोटाका अनुसार यो समितिले काउन्सिललाई सल्लाह दिनुका साथै जनगुनासालाई कसरी सहज रुपमा समाधान गर्ने भन्ने विषयमा सुझाब दिनेछ।
‘यो काउन्सिलका लागि नयाँ अवधारणा हो,’ उनले भने, ‘उपचार क्षेत्रमा नागरिकका समस्या समाधान गर्न यो अवधारणा कार्यान्वयनमा ल्याउन लागिएको हो।’