बर्दिया– जिल्लामा स्वास्थ्यका लागि विनियोजित बजेट स्थानीय तहहरुमा खर्च हुन नसकेको पाइएको छ। कुल बजेटको निकै कम मात्र बजेट स्वास्थ्यका लागि छुट्याइएको भए पनि स्थानीय पालिका र त्यहाँ खटिएका स्वास्थ्यकर्मीबीचको आपसी समन्वयको अभावमा बजेट खर्चमा समस्या देखिएको हो।
चालु आर्थिक वर्षको ८ महिना सकिन लाग्दासमेत २० देखि ३० प्रतिशत मात्र बजेट खर्च भएको छ। वैजनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक शोभा अधिकारीले कम जनशक्ति, समयमै बजेट भुक्तानी नहुँदा बजेट कम खर्च भएको बताए।
'सुरुमा निकै अलमल भयो, पालिकाका प्रतिनिधिहरुले स्वास्थ्यकर्मीको यहाँ के काम भन्ने प्रश्न गर्नुहुन्थ्यो,' उनले भने, 'बुझाउनै समय लाग्यो। खर्च गर्नेबारे मार्गनिर्देशिका ढिलो प्राप्त भयो, चुनावका कारण पनि कार्यक्रम परेन। त्यसो हुँदा बजेट कम खर्च भएको हो।'
पालिकामा खटिएका स्वास्थ्य संयोजकहरुले कार्यक्रम सञ्चालनका विविध पक्षमा छलफल गर्दा पर्याप्त जनशक्ति, भौतिक संरचना, प्रतिनिधिसँगको बुझाइको अभावले कार्यक्रम कार्यान्वयन र बजेट खर्च कमी भएको बताएका थिए।
जिल्ला समन्वय समिति र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रम जर्मन सहयोग (जिआइजेड) र प्लान इन्टरनेशनलको सहयोगमा बाँकेका स्थानीय पालिकाका अधिकारीहरुका लागि आयोजित कार्यक्रम यही समस्यामा केन्द्रित थियो। नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकका अध्यक्ष, उपाध्यक्षसहित बर्दियाको ठाकुरद्वारामा संयुक्त समीक्षा गोष्ठीमा गरिएको थियो।
८ वटै पालिकाका स्वास्थ्य संयोजकहरुको प्रस्तुतिमा कूल कार्यक्रम, पूरा भएका कार्यक्रम र नियमित रुपले चलिरहेका कार्यक्रमको संख्यामा सन्तुलन नदेखिएको हो।
जिल्ला जनस्वास्थ्य प्रतिनिधिका अनुसार कूल कार्यक्रम संख्या १० मध्ये २ पूर्ण, ३ नियमित भए बाँकी ५ कार्यक्रम सुरु नै भएको छैन।
पालिकामा पूरा भएका, हुन बाँकी, नियमित र त्यस अनुपातमा भएको खर्चको अनुपातबीच पनि एकरुपता देखिएको छैन। कुनै पालिकामा ८० प्रतिशतसम्म बजेट खर्च भइसकेको छ भने कतै खर्च नै हुन नसकेको पाइएको छ।
रोग नियन्त्रण कार्यक्रम, भौतिक पूर्वाधार निर्माण कार्यक्रमको खोप केन्द्र निर्माण शीर्षकको बजेट खर्च भएको छैन भने औषधि खरिद शीर्षकमा भने ८० प्रतिशतसम्म बजेट खर्च भइसकेको छ।
बाँकेका ८ पालिकाहरुले २ देखि १० प्रतिशतसम्म स्वास्थ्यका लागि बजेट विनियोजित गरेमध्ये सबैभन्दा बढी बजेट भएको नेपालगन्ज नगरपालिकाले सबैभन्दा कम बजेट २ दशमलव २ प्रतिशत मात्र स्वास्थ्यका लागि छुट्याएको छ। त्यसमा पनि खर्च निकै कम देखिएको छ।
बाँकेमा नेपालगन्ज उपमहानगरपालिकाले २ दशमलव २, कोहलपुर नगरपालिकाले ४ दशमलव १, खजुरा गाउँपालिकाले ४ दशमलव, ७, राप्ती सोनारी गाउँपालिकाले ४ दशमलव १, वैजनाथ गाउँपालिकले ५ दशमलव ३, नरैनापुर गाउँपालिकाले ९ दशमलव १, डुडुवा गाउँपालिकाले ९ दशमलव १ र जानकी गाउँपालिकाले १० दशमलव ९ प्रतिशत बजेट स्वास्थ्यका लागि छुट्याएका छन्।
प्रस्तुतीकरणमा स्वास्थ्य क्षेत्रको बजेट कार्यक्रम तय गर्दा केन्द्रकै बजेटमा बढी भर परेको र निजी तथा गैरसरकारी क्षेत्रको लगानीलाई समावेश नगरिएको पाइएको थियो।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य संयोजक केशवराज गौतमले जनशक्तिका भौतिक तथा प्राविधिक उपकरणको अभाव हुँदा कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए।
बाँकेका अधिकाश गाउँपालिकाले औषधि खरिद गरे पनि भण्डारण गर्न समस्या देखिएको छ। कतिपय पालिकामा न्यानो झोला खरिदमा बजेट अभाव भएको छ भने स्वास्थ्यकर्मीलाई तलब सुविधाका लागि पनि पर्याप्त बजेट छैन।
राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चुदालीले २ जना मात्र जनशक्ति हुँदा हालसम्मका कार्यक्रमको व्यवस्थापनमा समस्या आएको बताए।
जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेले चालु आवमा स्वास्थ्यमा भएका प्रगति, बाँकी रहेका कामबारे छलफल गर्न आयोजना गरिएको समीक्षामा पालिकामा खटिएका स्वास्थ्या संयोजकहरुले स्वास्थ्यका कार्यक्रमबारे स्थानीय प्रतिनिधिलाई बुझाउन नसक्दा पनि धेरै कार्यक्रम सञ्चालनमा समस्या भएको बताएका छन्।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले आमा सुरक्षा, न्यायो झोला खरिदका लागि रकम अभाव भएकाले समस्या भएको बताए।
जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले अगामी आव २०७५/७६ का लागि स्वास्थ्य क्षेत्रको प्राथमिकता तथा कार्यक्रमको निर्धारण, तथ्यमा आधारित योजना तर्जुमा गर्न स्वास्थ्यको सूचना र चालु आवको स्वास्थ्य कार्यक्रमको समीक्षा गर्दै अगामी असार मसान्तसम्मको बाँकी कार्यक्रमको कार्ययोजना तयार पार्न दुईदिने संयुक्त गोष्ठी सञ्चालन गरिएको बताए।