सुर्खेत– कर्णाली प्रदेश अन्तर्गत पर्ने दैलेख जिल्लाका ६५ वटा स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र शहरी स्वास्थ्य केन्द्रहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा शोभित थापाले जिल्लामा सञ्चालन भएका ६५ वटा स्वास्थ्य संस्था ११ वटा स्थानीय तहमध्ये सात गाउँपालिकालाई र चार नगरपालिकालाई हस्तान्तरण गरिएको बताए। नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, आठबीस नगरपालिकाका साथै गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमूले गाउँपालिका, महावु गाउँपालिका, भैरवी गाउँपालिका र ठाँटीकाँध गाउँपालिकालाई सञ्चालनमा रहेका ६५ वटा स्वास्थ्य संस्था हस्तान्तरण गरिएको हो।
नारायण नगरपालिका दैलेखमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेख र दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पताल भने स्थानीय निकायलाई हस्तान्तरण गर्न बाँकी छन्।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक रिता भण्डारी संविधानले नै स्वास्थ्य संस्था सञ्चालनको अधिकार स्थानीय तहलाई दिएकाले सोही अनुसार हस्तान्तरण प्रक्रिया सुरु गरिएको बताउँछिन्। उनले स्वस्थ्य र समृद्ध स्थानीय तह निर्माणको जिम्मा अब स्थानीय तहका जनप्रतिनिधिहरुको भएको बताइन्।
स्वास्थ्य संस्थामा नागरिकको सहज पहुँचका लागि पनि स्थानीय तहले विशेष भूमिका निर्वाह गर्नुपर्ने भण्डारीको भनाइ छ। उनले गाउँ तथा नगरभित्रका स्वास्थ्य इकाईहरु व्यवस्थित ढंगबाट सञ्चालन गर्न स्थानीय सरकारलाई आग्रह समेत गरिन्। स्थानीय तहलाई औषधि खरिदका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखसँग समन्वय गरी औषधि खरिद प्रक्रिया अगाडि बढाउन सुझाव दिइसकिएको भण्डारीले जानकारी दिइन्।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापा स्वास्थ्य जस्तो संवेदनशील विषय स्थानीय तहलाई हस्तान्तरण गरिएको बताउँदै नागरिकहरुको स्वास्थ्यमा खेलवाड नगर्न स्थानीय तहलाई आग्रह गरे। उनले स्थानीय तहको मातहतमा सञ्चालन हुने स्वास्थ्य संस्थाहरुबाट नागरिकले विगतमा भन्दा सहज रुपमा सेवा प्राप्त गर्ने विश्वास समेत व्यक्त गरे।