जुम्ला– स्थानीय तह सञ्चालन भएसँगै गोठिचौर गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्दै आइरहेको छ। गाउँपालिकाले स्वास्थ्य संस्थामा बिरामीलाई आउन आकर्षित गर्नेदेखि औषधि खरिद गरी स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिनेसम्मको काम गर्दै आइरहेको छ।
गुठिचौर गाउँपालिकाका कार्यकारी अधिकृत केशवराज शर्माले स्वास्थ्य संस्थामा अभाव र समस्य आउन नदिनेगरी काम अघि बढाएको बताए। उनले भने, 'बिरामीलाई स्वास्थ्य संस्थामा उपचार गर्न आउन प्रेरित गर्ने र औषधि नहुँदा बिरामी घर फर्कनुपर्ने वाध्यता हटाउनका लागि जोड दिएका छौं। गाउँपालिका स्थित सबै स्वास्थ्य संस्थामा नियमित कर्मचारी उपस्थित गराउने र बिरामीलाई सहजै उपचार गर्न पाउनेगरी व्यवस्था मिलाइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाद्वारा सञ्चालित समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमको संयुक्त अनुगमनका क्रममा स्वास्थ्यचौकीको व्यवस्थापन जिल्लाकै नमूना देखिएको हो।
विशेषगरी, ५ वर्षमुनिका बच्चाको उपचारसँग यो कार्यक्रम समबन्धित छ। बालबालिकालाई खोप लगाउनेदेखि जुकाको औषधि उपलब्ध गराउनेसम्मका काम सहजै रुपमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत भइरहेको शर्माले बताए। अनुगमनका क्रममा स्वास्थ्यचौकी भित्रको वातावरण र बाहिरको अवस्थाको अवलोकन गरिएको थियो। स्वास्थ्यचौकी इन्चार्ज सुष्मा शाहले अहिलेसम्म औषधि नभएर कोही पनि बिरामी फर्कनु नपरेको बताइन्। उनले बिरामीलाई रोगको कारण र उपचार विधिबारे सहजीकरण गर्दै आइरहेको जानकारी दिइन्।
तर, स्थानीयबासीलाई सरकारी औषधिप्रति विश्वास नभएको उनले गुनासो गरिन्। 'सित्तैमा दिएको भन्दै सरकारी औषधिको स्थानीयले त्यति विश्वास गर्दैनन्,' उनले भनिन्, 'तैपनि औषधिको काम र महत्वबारे बुझाउँदै आइरहेका छौं।'
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले सरकारले दिइएको निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउँदै अघि बढ्न सुझाव दिए। उनले सरकारी औषधिप्रति विश्वास नगर्ने बिरामी र आफन्तलाई औषधिको महत्ववोध गराएर सेवा नियमित राख्नुपर्नेमा जोड दिए।
स्वास्थ्य संस्थामा दैनिक ७० भन्दा बढी बिरामी उपचार गर्न आउँछन्। गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले गाउँपालिकास्थित सबै स्वास्थ्य संस्थालाई औषधि अभाव हुन नदिने भन्दै आवश्यक परेमा सेवा विस्तार गर्दै लैजाने बताए।