डा भुपेन्द्र बस्नेत, निर्देशक, वीर अस्पताल
सधैं जस्तो घरपरिवार जम्मा हुने रङ लगाउने सँगै बस्ने रमाइलो गरेर खेल्ने गर्छु । पहिले–पहिले होली एक महिनासम्म चल्थ्यो। आजभोली एकदिनमा झरेको छ।
साथीभाईसँग मात्र खेल्ने गरिन्थ्यो । तर, परिवार र साथीभाईसँग रमाइलो गरेर मनाइन्छ । पहिले साथीभाई जम्मा भएर खेल्ने गरिन्थ्यो । आजाभोली परिवार र साथीभाई सँगै जम्मा भएर खेल्ने गरिन्छ । त्यो परिवारका सदस्य भन्दा साथीभाईको महत्व लाग्थ्यो । साथीभाईसँग होली खेल्ने गाउँ डुलेर खेल्ने गरिन्थ्यो।
चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमडी गर्दा होली खेल्न पाइएन । साथीहरु भेला भएर होली खेल्न बोलाउँथे तर आफ्ना ड्युटी हुन्थ्यो । डाक्टर भएपछि कहिलेकाहिँ यस्ता रमाइला छुट्छन् । त्यतिबेला नरमाइलो पनि लाग्थ्यो।
सञ्जुबाबु श्रेष्ठ
छाला रोग विशेषज्ञ

होली भनेको रङको चाड हो । यसले मानिसमा रहेको रंगभेद हटाउँछ । को कालो ? को गोरो ? एउटै रङमा समेटिन्छन् सबैजना।
धार्मिक रुपमा पनि यो पर्वको छुट्टै महत्व छ । रङ्गिन चाड भएकाले म पनि सानो बेलामा धेरै छुकछुके थिए । मेरो बाल्यकाल भोजपुर हो त्यहाँ हामी साथीभाई मिलेर खुब रमाइलो गरिन्थ्यो। हामी सानो हुँदाखेरि अहिलेको जस्तो दशथरि रङ पाइन्नथ्यो । त्यसैले होलीको बेला पिठो, केसरी र अक्षता रंगाउने गथ्र्यौं । फूलको धुलो बनाएर रङ बनाउने गरिन्थ्यो । सबैभन्दा बदमासी गरेको भनेको हाँडीको कालो हातमा तेल लगाएर साथीहरुलाई दलेर कालो बनाइदिन्थ्यौं । घरमा बसेर लोला पनि खुब हानियो त्योबेला।
होली खेल्दा जबरजस्ती गरिएन । होलीको नबिर्सिने घटना छ एउटा । छतमा बसेर बाल्टीबाट बाटोमा हिँड्नेलाई पानी खन्याउँदा बाटा नै टाउकोमा खसेको छ । बटुवा घाइते भएर अस्पताल लिनुपर्यो । गाली पनि खाइयो । त्यसले मलाई सिकायो । त्यसपछि सजक भएँ । अचेल त होली खेल्दासबै परिवार जम्मा भएर खेल्ने गर्छौँ ।
डा रमेश कँडेल

होली भन्ने बित्तिकै रमाइलो चाडको रुपमा लिन्छौं हामी नेपालीहरुले । सानैदेखि हामी रमाइलो गथ्र्यौं होलीमा । ड्युटीमा नपरेसम्म सबै साथीहरु मिलेर होली खेल्ने गर्छौं।
होली खेल्दा युवा अवस्थामा धेरै नै रमाइलो लाग्दो रहेछ । एमबिबिएस मैले धरानबाट गरेको हुँ । त्यतिबेला त्यहाँ हाम्रो ठूलो समूह हुन्थ्यो । सबै साथीहरु होली खेलेर रमाइलो गथ्यौँ । एमडी इन्डियामा गरें । त्यहाँ पनि होलीको रौनक निकै हुन्छ । त्यसैले होली मलाई अहिले पनि एउटा राम्रो उत्सवजस्तो लाग्छ।
जीवनका सबै रङसँग होलीको सम्बन्ध हुन्छ जस्तो लाग्छ । जीवनलाई रङ्गिन बनाउन होलीले प्रोत्साहित गर्छ । जीवनको महत्वबोध गराउँछ।
होलीको स्थान जुन ठाउँमा थियो पहिले, अहिले त्यस्तो छैन जस्तो लाग्छ । स्वास्थ्यका हिसाबले पनि अहिले धेरै विकृति फैलिएको छ । आजाभोली फोहर पानी फाल्ने, मोबिल मिसायर पानी हाल्ने गरिन्छ । मदिरापान धेरै गर्ने, गाँजाको अत्याधिक सेवन गर्ने गरिएको पाइन्छ।
डा रञ्जु खरेल
आँखारोग विशेषज्ञ

यो धार्मिक र रङको पर्व हो । बच्चा बेला अलिअलि मात्रै खेलिन्थ्यो । साथीहरु इनामेल र कलर दलेर टोलटोल जान्थे । म त डराउँथें । त्यसैले जान्नथें । अरु खेलेको हेर्न चाहिँ रमाइलो लाग्थ्यो । होली भनेको परिवार र साथीहरुसँग शुभकामना साट्ने र परिवारसँगै बस्ने पर्वको रुपमा हेर्छु म।
पहिला–पहिला होलीमा लोला हानेर हैरान पार्दैनथे यसरी । होलीमा पनि पूजाको रङ प्रयोग हुन्थ्यो । पूजामा प्रयोग हुने रङको प्रयोग गर्थें भने आजाभोली क्यामिकल भएको रङ धेरै प्रयोग भएको पाइन्छ। त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ ।
होली भनेको एक पर्व हो । त्यसैले साथीसँग रमाइलो गरेर खेल्नुपर्छ । अरुलाई दुःख दिने हिसाबले खेल्नु हुँदैन।
डा सबिना भट्टराई
छाला रोग विशेषज्ञ

होली भनेको रङको पर्व हो । यसको धार्मिक महत्व पनि उत्तिकै मात्रमा हुन्छ । सानो बेलामा ह निकै होली खेलिन्थ्यो । त्यतिबेला हामीले होलीको लागि प्रयोग गर्ने रङमा रसायन मिसिएको हुन्नथ्यो।
टोलका बुढादेखि बच्चासम्म एकै ठाउँ होली खेलेर रमाइलो गथ्र्यौं । त्यो बेला पानीको प्रयोग बढी हुन्थ्यो।
भारतमा पढेको भएर त्यहाँ रङको प्रयोग बढी हुने गरेको पाएँ । अण्डा पानीमा घोलेर पनि होली खेलियो त्यहाँ। कुहिएको गोलभेंडा प्रयोग गरेर होली खेलेको अनुभव पनि छ ।
डा बिनिता जोशि
बालरोग विशेषज्ञ

होली साथीभाई परिवारसँग मिलेर मनाउने पर्व भएकाले मैले पनि त्यसै गरेर मनाउँछु । होली भनेको युवाहरु मात्र जम्मा भएर खेल्ने पर्व होइन। यो पर्वमा सबैजना परिवार साथीभाई मिलेर खेल्ने हो।
सानो बेलामा साथीहरुसँग बाटोमा गएर रङ दलेर र पानी छ्यापेर खेल्ने गथ्र्याैँ । स्कुल पढ्दा लोला खुब हानियो र खाइयो । तर अहिले लोला हान्ने विकृती घटेको छ।
प्रायः मामाघरतिरको होली धेरै याद आउँछ । अहिले पनि मामाघरमा जम्मा भएर होली खेल्ने गरेका छौं । जता पुगेपनि एकपटक मामा घरमा जम्मा हुनुपर्ने नियम जस्तै छ।
प्रस्तुति : सिर्जना खत्री