राजविराज– गर्भवतीको मृत्यु भएपछि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चर्किएको आन्दोलन साम्य भएको छ। पीडित पक्षले पाँचबुँदे सहमति गरी आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्।
मृतकको काजक्रियाका लागि १ लाख नगद, मृतकका छोरा र छोरीको पढाइ राजविराज नगरपालिका र विष्णुपुर गाउँपालिकाले मिलाउने, मृतकका पतिलाई दैनिक ज्यालादारीमा अस्पतालमा नियुक्ति दिने, घटनाको वास्तविकता छानबिन गरी कारवाहीका लागि सिफारिस गर्ने र १० लाख रुपैयाँ क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने सहमति भएको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले जानकारी दिए।
सुत्केरी व्यथाले च्यापेपछि २ दिनअघि अस्पताल भर्ना गरिएकी विष्णुपुर गाउँपालिका १ पिप्राहिकी २५ वर्षीया अनिता यादवको बुधबार राति मृत्यु भएको थियो। सुरुदेखि नै चेकजाँच गर्दै आएका डा दिलीप साहले नै अनितालाई अस्पताल भर्ना गर्न सल्लाह दिएका थिए। तर, व्यथा चर्किंदै गएपछि डाक्टरले वास्ता नगरेको मृतकका पति रमेश यादवले आरोप लगाएका छन्।
बुधबार राति १० बजेदेखि नै अनितालाई दुखाइ बढेपछि आफूले पटकपटक फोन गर्दा समेत डाक्टरले फोन नउठाएको यादवले बताए। अस्पतालले पनि सहयोग नगर्दा आफ्नी पत्नी र बच्चा दुवैको मृत्यु भएको उनको भनाइ छ।
‘डाक्टर नै नआएपछि बच्चाको टाउको बाहिर निस्केको अवस्थामा राति करिब १ बजे अनिता र बच्चा दुवैको मृत्यु भयो’, उनले भने।
बिरामीको मृत्यु भइसकेपछि राति २ बजे आइपुगेका डा साह तक्कालै भागेको पनि उनले आरोप लगाएका छन्। मृतकका ४ वर्षीय छोरा र २ वर्षीया छोरी छन्।
घटनाको विरोधमा पीडितका आफन्तले दिनभर राजविराजमा आन्दोलन गरेका थिए। राजविराज–भारदह सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पारीयो। गाउँबाट ट्याक्टर र टेम्पोमा राजविराज आएका स्थानीयले अस्पताल घेराउ गर्दै डा साहको क्लिनिकको बोर्डमा आगो लगाएका थिए।
घटनाको वास्तविकता पत्ता लगाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन राजविराज नगरपालिकाका मेयर यादवको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन गरिएको छ।