काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर थोरासिक एन्ड ट्रान्सप्लान्ट सेन्टरको ‘एनेक्स’ भवनको शिलान्यास गरेका छन्।
शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह सेन्टरलार्इ आग्रह गरे । उनले अस्पताल र मेडिकल कलेज सञ्चालनमा गुणस्तरीयता आवश्यक रहको पनि उल्लेख गरे।
हाल एउटा भवनमा सिमित सेन्टरमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवनको आवश्यकता परेको हो।
हाल एक सय बेड क्षमताको उक्त सेन्टरले ४० बेडको नयाँ भवन बनाउन लागेको अस्पतालका कार्यकारी निर्देशक डा उत्तम श्रेष्ठले बताए। स्थापनाका ७ वर्षमै उत्कृष्ट उपचार सेवाका कारण सर्वसाधारणमाझ लोकप्रिय बनेपछि बेड थप्नैपर्ने बाध्यता रहेको उनले बताए।
नयाँ भवनमा केही प्रविधि र सुविधा थपेर अन्तर्राष्ट्रिय स्तरको उपचार सेवा दिने लक्ष्य लिएको सेन्टरका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन्। उनका अनुसार भिभिआइपीका लागि सुइट सहितको परिकल्पना गरिएको छ।
यसका साथै हाइब्रिड अप्रेसन थिएटर समेत बनाइने भएको छ। जुन नेपालमै पहिलो हुनेछ । साढे दुई वर्षमा बनिसक्ने भवनका लागि ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।