काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गरेका छन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताए। उनले भने, ‘सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभूत गर्ने गरी नै समृद्धिका काम गर्नेछौँ।’
प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाललाई अल्पविकसित देशको सूचीबाट विकसित देशमा स्तरोन्नति गरिने बताउँदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताए।
प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्दै ‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरीयता आवश्यक छ’, उनले भने।
शिक्षण अस्पताल महाराजगञ्जभित्रै रहेको मनमोहन कार्डियोभाष्कुलर थोरासिक एन्ड ट्रान्सप्लान्ट सेन्टरमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवनको आवश्यकता परेको हो।
हाल एक सय बेड क्षमताको उक्त सेन्टरले ४० बेडको नयाँ भवन बनाउन लागेको हो। स्थापनाका ७ वर्षमै उत्कृष्ट उपचार सेवाका कारण सर्वसाधारणमाझ लोकप्रिय बनेपछि बेड थप्नैपर्ने बाध्यता आइलागेको हो।
नयाँ भवनमा केही प्रविधि र सुविधा थपेर अन्तर्राष्ट्रिय स्तरको उपचार सेवा दिने लक्ष्य लिएको सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले बताए। उनका अनुसार भिभिआइपीका लागि सुइट सहितको परिकल्पना गरिएको छ।
यसका साथै हाइब्रिड अप्रेसन थिएटर समेत बनाइने भएको छ। जुन नेपालमै पहिलो हुनेछ । साढे दुई वर्षमा बनिसक्ने भवनका लागि ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
.JPG)
.jpg)
तस्बिर: रासस