काठमाडौं- सरकारले ३१ वटा मन्त्रालयबाट घटाएर १८ वटा मन्त्रालय राख्ने निर्णय गरेको छ। यो निर्णयसँगै अब एउटा मन्त्रालयमा ३ जनासम्म सचिव हुने भएका छन्।
सरकारले तत्काललाई समस्या समाधान गर्नका लागि जोडिएका मन्त्रालयमा विगतका सचिवले जे काम गरिरहेका थिए त्यसैअनुसार काम गर्नेगरी एउटै मन्त्रालयमा २ देखि ३ जनासम्म राख्ने तयारी अगाडि बढाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्रालय जोडिएपछि ११ जना सचिवको व्यवस्थापनमा समस्या परेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेकका १७ मन्त्रालयमध्ये अब ६ वटामा १ सचिव र बाँकी ११ वटा मन्त्रालयमा २ देखि ३ सचिव कायम रहने गरी कार्य विभाजन गरिएको छ।
सरकारको यो तयारीसँगै स्वास्थ्य मन्त्रालयमा पनि दुई सचिव रहने चर्चा चलेको छ। तर, प्रारम्भिक रुपमा हेर्दा स्वास्थ्यमा एक जना मात्र सचिव रहने सम्भावना देखिएको छ।
स्वास्थ्य मन्त्रालयमा जनसंख्या जोडिएपछि यसअघिको वातावरण तथा जनसंख्या मन्त्रालयका सचिव स्वास्थ्यमा आउनसक्ने सम्भावना थियो। तर, वातावरण तथा जनसंख्या मन्त्रालयको जनसंख्या स्वास्थ्यमा र वातावरण वनमा गाभिएपछि वन तथा वातावरण मन्त्रालयमा वन र वातावरणका गरी दुई सचिव हुने पक्का भएका छन्। यो आधारमा हेर्दा स्वास्थ्यमा हाल एक जना सचिव नै रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
हाल स्वास्थ्यमा डा पुष्पा चौधरी सचिव छिन्।