नेपालञ्ज– बाँकेका आठवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन १५ बुँदे प्रतिबद्धता जनाएका छन् । सर्वसाधारणले अनुभूत गर्नेगरी स्वास्थ्य सेवा दिइने बताइएको छ । यसका लागि औषधीको अभाव हुन नदिने, पूर्ण खोपयुक्त स्थानिय तह बनाउका पहल गर्ने, बर्थिङ सेन्टरलाई थप प्रभावकारी बनाउने, एम्बुलेन्स खरिद गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखेका छन्।
त्यसैगरी स्वास्थ्य संस्थामा रहेका प्रयोगशालाहरुलाई प्रभावकारी बनाउनका लागि उपकरणहरु थप गर्ने, कुपोषण न्यूनीकरण गर्ने, जेष्ठ नागरिकको निःशुल्क उपचार, सुरक्षित मातृत्व, सिकलसेल एनिमियाको निःशुल्क चेकजाँच कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएका छन्। नेपालगन्ज उपमहानगरपालिकाले ‘पूर्ण पोषण, पानीजन्य रोग नियन्त्रणका लागि स्वस्थ खानेपानी, सहरी क्लिनिक विस्तार, औषधि खरिदलाई प्राथमिकतामा राखेको छ ।
स्वास्थ्य संस्था स्थानीय सरकारमा हस्तान्तरण भएपछि उनीहरुले उपलब्ध गराउने सेवा र सुविधालाई थप प्रभावकारी बनाउनका लागि बाँकेका आठवटै स्थानीय सरकारका प्रमुख र उपप्रमुखलाई संयुक्त बैठक आयोजना गरेर जिल्ला समन्वय समिति र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले छलफल गरेका हुन्।
दुईदिने समीक्षा गोष्ठीमा बोल्दै स्थानिय तहका स्वास्थ्य संयोजकहरुले दक्ष कर्मचारी कम भएको, उपकरण र औषधीहरुको अभाब भएको बताउँदै जनप्रतिनिधि र कर्मचारीहरु बिचमा आपसमा समन्वय र बुझाइको कमी हँुदा स्वास्थ्य क्षेत्रको कामहरु प्रभावकारी हुन नसकेको बताएका थिए।
छलफल पछि बाँकेका स्थानीय तहले स्वास्थ्य सम्बन्धी नीतिगत व्यवस्था, संरचनागत सुधार गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्त गरेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खड्काले बताए।
बाँकेका स्थानीय तहका स्वास्थ्य संयोजकहरुले जनशक्तिको अभाव तथा अत्यावश्यक उपकरणका नहुँदा स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा पुराउन समस्या परेको बताएका थिए ।
स्थानीय पालिकाका जनप्रतिनिधिहरुलाई स्वास्थ्यका महत्वपूर्ण कार्यक्रम, उद्देश्य र तिनको अपेक्षित प्रतिफलबारे जानकारी गराई नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, तथा नियमन गर्न सहयोग पुगोस् भनेर संयुक्त समीक्षा बैठक आयोजना गरिएको प्रमुख खड्काले बताए।
बैठकमा स्थानीय तहको अधिकारभित्र परेका स्वास्थ्य कार्यक्रमका अधिकार, साझा अधिकार, आधारभूत स्वास्थ्य सेवा, आमा सुरक्षा कार्यक्रम, नवजात शिशु स्याहार कार्यक्रम, खोप कार्यक्रम, बालस्वास्थ्य, पोषण कार्यक्रम र एकीकृत बालरोग व्यवस्थापन लगायत बिषयहरुमा छलफल गरी आगामी वर्षका लागि योजना निर्माणका लागि तयारी समेत गरिएको खड्काले बताए ।