काठमाडौं - वल्खुस्थित वयोधा अस्पतालले जनरल वार्डमा रहेका धेरै बिरामीको मुटुको धडकन, पल्स रेट, रगतको अक्सिजन, हेमोग्लोबिनको अवस्था बारेमा एकैपटक अवलोकन गर्न सक्ने आधुनिक उपकरण भित्र्याएको छ।
अस्पतालले टेक्नोलोजी मेसिमो पेसेन्ट सेफ्टिनेट नामक उपकरण ल्याएको हो। यो उपकरण नेटवर्किंग टेक्नोलोजीमा आधारित छ। यो उपकरणलाई रिमोट मोनिटरिङ एन्ड क्लिनिसियन नोटिफिकेसन प्रणाली भनेर चिनिन्छ । यसले वार्डमा भएका बिरामीको रगतमा भएको अक्सिजन, मुटुको धड्कन र परफ्युजन इन्डेक्सको नियमित जाँच गर्ने र यदि यसमा कुनै तलमाथि भएमा ‘माइनर, मेजर र सिभियर’ अवस्थाको बारेमा 4 स्टेसनमा रहेको कम्प्युटर मोनिटर र नर्स तथा डाक्टरसँग रहेको पेजरमा एकैपटक सुचना दिनेछ।
यो प्रविधिको प्रयोगले बिरामीको आइसियु बसाई र वार्डको बसाई कम गर्दै बिरामीलाई छिटो र सहज उपचार प्रदान गर्न मद्धत गर्ने अस्पतालका कार्यरकारी निर्देशक रवि चौधरीले जानकारी दिए। उनका अनुसार यो सुविधाका लागि बिरामीले अतिरिक्त शुल्क तिर्नुपर्दैन।
‘रिमोट मोनिटरिगं टेक्नोलोजीमा हरेक वेडमा रहेका बिरामीको औंलामा मेसिमो पेसेन्ट सेफ्टिनेट नामक डिभाइस लगाइन्छ,’ चौधरीले भने, ‘बिरामीको औंलामा उक्त डिभाइस लगाइसकेपछि एक जना नर्सले कम्प्युटरको सहयोगमा एकैपल्ट धेरै बिरामीको मुटुको धडकन, पल्स रेट, रगतको अक्सिजन, हेमोग्लोबिनको अवस्था बारेमा अवलोकन गर्न सकिन्छ।’
उनका अनुसार बिरामीहरु फरकफरक वेडमा राखिएपनि वार्डका नर्स र डक्टरसँग भएको पेजरमा नै हरेक बिरामीको अवस्थाको बारेमा जानकारी आउँछ । उक्त पेजरमा दुई किलोमिटर परसम्म यस्ता सुचना आउनेछ। यो प्रविधि नेपालमा पहिलो पटक भित्र्याइएको चौधरीले बताए।
यो प्रविधिको आयातकर्ता कक्समेडका निर्देशक अजय गुप्ताले बिरामीलाई सहज रुपमा सुरक्षित तवरले गुणस्तरीय सेवा दिने उपकरणहरु थप भित्र्याने जानकारी दिए।