काठमाडौं- देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिनेको शल्यक्रिया गर्ने नर्भिक अस्पतालका डाक्टरलाई कारबाही गर्ने विषयमा टुंगो लगाउन नसकेको नेपाल मेडिकल काउन्सिलले सञ्चारमाध्यमलार्इ भने 'नियन्त्रणमा ल्याउने' योजना अघि सारेको छ। काउन्सिलले आफ्नो वार्षिकोत्सवमा सार्वजनिक गरेको भावी योजनामा सञ्चारमाध्यमलार्इ नियन्त्रणमा ल्याउने बुँदा समावेश गरको हो।
जबकि शल्यक्रियामा गम्भीर गल्ती गर्ने प्रवीण नेपाल र शैलेज रञ्जितकारलार्इ कारबाही गर्ने विषयमा काउन्सिलले निर्णय लिन सकेको छैन।
भावी योजना र सुझाव शीर्षकको एक प्रतिवेदनको चौथो नम्बर बुँदामा उक्त विषय उल्लेख छ। भनिएको छ, 'चिकित्सा पद्धति, उपचार विधि, उपकरण आदिको अनर्गल प्रचार गर्ने सञ्चारमाध्यामलार्इ प्रेस काउन्सिलको सहकार्यमा नियन्त्रणमा ल्याउने।' जबकि चिकित्सा पद्धति, उपचार विधि, उपकरण आदिको कस्तो प्रकारको प्रचार सही वा कस्तो प्रकारको प्रचार अनर्गल भनेर छुट्याउने कुनै मापदण्ड छैन।
पछिल्लो समय नेपाली चिकित्सक र स्वास्थ्य संस्थाको उपचार पद्धतिमाथि उपभोक्ता र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि काउन्सिलले तर्साउन यस्तो योजना सारेको देखिन्छ।
यसबाहेक गैरकानुनी रुपमा काम गरिरहेका विदेशी चिकित्सकलार्इ सम्बन्धित देशको काउन्सिलसँग मिलेर कारबाहीको दायरमा ल्याउने, बिनादर्ता सञ्चालनमा रहेका स्वास्थ्य संस्थालार्इ दर्ता प्रक्रियामा ल्याउने काउन्सिलको भावी योजना छ। र चिकित्सक र स्वास्थ्य संस्थाले प्रचारका लागि प्रमाणित नभएका कुरा जोडी प्रलोभन देखाउने र झुक्याउने कार्य रोक्ने पनि काउन्सिलको योजनामा छ।
यसैगरी एमबिबिएस वा सो सरहको शिक्षा मात्रै लिएकालार्इ दर्ता नगर्ने, नेपाल र नेपालीको हितमा काम गर्न आएका विदेशी चिकित्सकलार्इ दर्ता प्रक्रिया खुकुलो बनाउने र चिकित्सक आचार संहिताविपरीत कार्य गर्नेलार्इ कारबाहीको दायरमा ल्याउने, मेडिकल कलेजको भौगोलिक क्षेत्र निर्धारण गरी विशेषज्ञ सेवाको विशिष्टिकरण गर्ने र हरेक मेडिकल कलेजले एउटा जिल्ला अस्पताल वा स्वास्थ्य संस्थामा नियमित रुपमा विशेषज्ञ सेवा पुर्याउने योजना अघि सारिएको छ।
