काठमाडौं- त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी पुन: आमरण अनसन बस्ने भएका छन्। डा केसीले दुईबुँदे माग राख्दै फागुन २९ गतेबाट फेरि अनसन बस्ने चेतावनी दिएका हुन्।
डा केसीले यो पटक सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिनुपर्ने, राजीनामा नदिए महाभियोग प्रक्रियाबाट हटाउनुपर्ने र चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषिलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
यस्तो छ विज्ञप्ति
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनका मुद्दामा हामी निरन्तर लडि आएको विदितै छ। त्यसै क्रममा न्यायालय लगायत देशका संवैधानिक निकायका पदाधिकारीहरुलाई समेत जवाफदेही बनाएर ती निकायको कार्य सम्पादन निष्पक्ष र प्रभावकारी हुनुपर्छ भनेर हामीले बारम्बार भन्दै आएका छौं।
त्यसै क्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको भ्रष्टाचार र चरम् पदीय दुरुपयोगका कारण नेपालको न्यायालयको मर्यादामा गहिरो आँच पुगेकाले न्यायालयको मर्यादा फर्काउनका लागि पनि उनले पद छाड्नुपर्छ भनेर हामीले यस अघि एक चरण सत्याग्रह गरिसकेका छौं। त्यस क्रममा रातारात अवैध रुपमा हामीमाथि धरपकड गरिए पनि अन्ततः सर्वोच्च अदालतको इजलासले प्रधान न्यायधीश पराजुलीको विवादित नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान गर्ने आदेश दियो। त्यो अवस्थामा निष्पक्ष न्याय सम्पादनका लागि उनले पद छाड्नुपर्छ भनेर हामीले निरन्तर भन्दै आएका छौं।
यसैबीच पराजुलीचाहिं हाम्रा तर्फका वकिललाई आफैं ज्यान मार्ने धम्की दिनेसम्मका कुकृत्यमा संलग्न मात्र भएनन्, मिडियामाथि सेन्सरसीप लगाएर आफ्ना कुकर्महरु छोप्ने प्रयासमा लागिरहेका छन्। लोकतान्त्रिक व्यवस्थामा योभन्दा लाजमर्दो अवस्था अर्को हुन सक्दैन।
त्यसैले अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन। साथै संसदले चिकित्सा शिक्षा अध्यादेशलाई पनि यथाशीघ्र ऐनमा परिणत गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं। समयमै सही रुपमा ऐन पारित नभएको खण्डमा त्यसका लागि उचित कदम चाल्न हामी बाध्य हुनेछौं।
तत्काल चाहिं गोपाल पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसेर निरन्तर न्यायको संहार गरिरहेकाले त्यो अवस्था अन्त गर्नका लागि हामी सत्याग्रहसहित विरोधका कार्यक्रम ल्याउन बाध्य भएका छौं। त्यसैले निम्न मागहरु पूरा नभएको खण्डमा यही फाल्गुण २९ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं।
मागहरु
१) न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने, न्यायालयको मर्यादा गिराउने, सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक संविधानको मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसीप लगाउन प्रयास गर्ने प्रधान न्यायधीश गोपाल पराजुलीबाट तत्काल राजीनामा दिइयोस्, नदिएको अवस्थामा तत्काल महाभियोगको प्रक्रियाबाट उनलाई पदबाट हटाएर उनीमाथि कानुनी छानविन र कारवाही गरियोस्।
२) चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर्याइएका पदाधिकारीहरुलाई तत्काल आयोगको सिफारिशबमोविम कारवाही गरियोस्।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज