दोलखा- जिरीस्थित जिल्ला अस्पताल दोलखामा एक महिलाको ५ केजीको ट्युमरको सफल शल्यक्रिया भएको छ। जिरी नगरपालिका – ३ मालिकी ६५ वर्षिया पेमा डोमा शेर्पाको दाहिने थाइ (तिघ्रा)मा रहेको ५ केजीको ट्युमर (मासुको डल्लो) को सफल शल्यक्रिया गरिएको हो।
अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा निशान्त ढकाल नेतृत्वको टोलीले शुक्रबार साढे ४ घण्टा लामो शल्यक्रिया गरेका हुन्। शल्यक्रिया गर्ने टोलीमा डा शिव प्रजापति, डा विज्ञान महर्जन, डा सुनिता राई, एनेस्थेसिया असिस्टेन्टमा अजेन्द्र यादव र नर्स गंगादेवी जिरेल थिए।
बिरामीलाई अस्पतालकै कर्मचारी उत्तम पोखरेलले रगत दान गरेका थिए। हेमोग्लोबिनको मात्रा ६ भएकी बिरामीलाई तीन पिन्ट रगत चढाइएको थियो।
डा ढकालका अनुसार ट्युमरमा संक्रमण बढ्ने खतरा देखिएको र बिरामी पक्षकै आग्रहपछि अस्पतालले जोखिम मोलेर शल्यक्रिया गरिएको हो। ‘बिरामीको आर्थिक अवस्था नाजुक थियो’ उनले भने, ‘उनीहरु पैसा खर्च गरेर बाहिर जान नसक्ने भएपछि अस्पतालमा भएका सिमित साधन स्रोतबाट नै शल्यक्रिया गरेका हौँ।’ उनका अनुसार यस्तो शल्यक्रिया अस्पतालमा पहिलोपटक भएको हो।
बिरामीका छोरा पेम्बा शेर्पाले २० वर्षदेखि ट्युमर बोकेर हिँडिरहेकी आमाको जिल्लामै उपचार भएपछि खुसी व्यक्त गरे।
अस्पताल प्रशासनका नायव सुब्बा राजन पराजुली सम्पूर्ण कर्मचारीहरुको सहयोगमा यस्ता जटिल शल्यक्रिया दुर्गमका अस्पतालमा समेत सम्भव भएको बताउँछन्।