एजेन्सी - अमेरिकी राज्य अलाबामाका एली थम्सनको जन्मँदा नाक नै थिएन। उनको २ वर्ष तीन महिनाको उमेरमा जुन २ तारिखमा निधन भएको हो।
एलीका बुवा जेरेमी फिन्चले सामाजिक सञ्जाल फेसबुकमा छोराको निधन भएको समाचार पोस्ट गरेका थिए। ‘हामीले हाम्रो सानो छोरा गुमायौँ,’ जेरेमीले फेसबुकमा उल्लेख गरेका थिए, ‘तर हामीले किन उसलाई गुमायौँ भनेर मैले बुझ्न सकिनँ र यसले मलाई लामो समयसम्म मनमा गहिरो चोट पुर्याउनेछ। म आफ्नो जीवनमा यस्तो प्यारो/मायालु छोरा पाएकोमा आफूलाई भाग्यशाली ठान्छु।’
एरिनिया (अत्यन्त असामान्य) अवस्थामा सन् २०१५ मा एलीको जन्म भएको थियो। जसअनुसार उनको नाक थिएन, नाकको प्वाल थिएन र साइनस क्याभिटी पनि थिएन।
अमेरिकन जर्नल अफ केस रिपोर्टले गरेको अध्ययन अनुसार विश्वभर यस्तो अवस्थामा अहिलेसम्म करिब ४० जना मात्र बालबालिका जन्मेका छन्।
एलीकी आमा ब्रान्डी म्याकग्ल्याथरीले सिएनएनसँग छोरा जन्मने बित्तिकै आफूलाई केही असामान्य लागेको बताइन्।
‘म एकछिन उभिएँ र भनेँ छोरामा केही समस्या छ,’ म्याकग्ल्याथरीले भनिन्, ‘हाम्रा चिकित्सकले भने त्यस्तो केही होइन, एकदम ठीक छ भन्का थिए। मैले भनेँ, होइन, उसको नाक नै छैन।’
जन्मेको पहिलो दिनमै एलीको सासनलीको शल्यक्रिया गरिएको थियो। एलीलाई सास फेर्न र भोजन गर्न सजिलो होस् भनेर सासनलीको शल्यक्रिया गरिएको थियो। एलीको जन्मबारे सञ्चार माध्यमले प्रमुखताका साथ समाचार प्रकाशन/प्रशारण गरेका थिए। उनी बाँचेकाले उनी अमेरिकामा ‘मिराकल बेबी’ का नामबाट प्रशिद्ध थिए।
‘उसलाई सबैले चिन्थे। हामी उसलाई गरेको माया र विश्वभरबाट हामीले पाएको सहायताका लागि सबैप्रति आभारी छौं,’ ती बालकका पिता फिन्चले भनेका छन्, ‘अब भने हामी तपाईंसँग अरु केही माग्दैनौँ, हाम्रो छोराका लागि प्रार्थना मात्र गरिदिनुहोस्।’