उदयपुर– बिरामी आउँदा सम्पर्क विहीन रहने र कोठामा सुतिरहने गरेको गुनासो बढीरहेका बेला जिल्ला अस्पताल उदयपुरका डाक्टरले आगामी दिनमा यस्तो गल्ती नदाेहाेर्याउने बताएका छन्।
गत पुष ११ गते दुर्घटनामा परेका गम्भीर बिरामी अस्पतालमा रहेका बेला जिल्ला अस्पताल उदयपुरमा चिकित्सक भने सम्पर्क विहीन भएका थिए। चिकित्सक नहुँदा प्रहरीका अहेवले प्रारम्भिक उपचार गरी घाइतेलाई बिराटनगर पठाएउनु परेको थियो।
अस्पतालमा कार्यरत डाक्टरहरुले बिरामीहरुको उपचारको क्रममा कुनै त्रुटी हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। नेपाली चिकित्सक दिवसका अवसरमा अस्पतालमा आयोजित कार्यक्रममा उनीहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
'चिकित्सक बिरामी बिचको सम्बन्ध: वर्तमान अवस्था र चुनौतीहरू' विषयक अन्तरक्रिया कार्यक्रममा डाक्टरहरुले आफूले सिकेको सीपलाई सेवामा परिणत गर्न सामुहिक प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘सुरक्षित स्वास्थ्यकर्मी, सर्वसुलभ उपचार गुणस्तरिय सेवा स्वास्थका पुर्वाधार’ भन्ने नाराका साथ यस बर्ष डाक्टर दिवस मनाइएको छ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख तारानाथ लुर्इंटेलले आफू स्वास्थ्य मन्त्रालयमा हुँदा डाक्टर रोएको र हाँसेको दुबै देखेको बताए । ‘म डाक्टरहरुको समस्याबारे पूर्ण रुपमा जानकार छु तर मैले पनि नगरसभाबाट बजेट पास गर्नुपर्ने हुँदा उदयपुर जिल्ला अस्पतालमा सेवा सुविधा ठिक छ भन्ने सन्देश प्रवाह गर्नुहोस्,’ लुईंलेटले भने ‘हामीले दिने सेवाले हाम्रो मूल्याङकन हुने हुँदा सेवा प्रवाहमा गुनासो आउन नदिने तर्फ विचार गर्नु पर्छ।’
लुईंटेलले चिकित्सकहरुलाई अधिकतम मिठो बोल्न समेत आग्रह गरे। उनले डाक्टरले ओभर टाईम काम गरेको पारिश्रमिकको व्यवस्था नगरपालिकाले गर्ने तयारी गरिरहेको जानकारी पनि दिए।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले संघीयताले स्वास्थ्य क्षेत्रमा अन्यौलता सृजना गरेको गुनासो गरे। ‘५० बेडको अस्पतालमा ११ औं तहको डाक्टरको दरबन्दी छ तर नगरपालिकाको उपसचिवको मातहतमा सेवा दिनु पर्ने विडम्बनाको कारण उदयपुर अस्पताल लामो समयदेखि अस्पताल प्रमुखविहिन हुनुपरेको छ’ उनले भने।
प्रसाईंले ओभर टाईम काम गरेको पैसा समेत अहिले सम्म नपाएकोले काम लगाएपछि पारिश्रमिक दिन नगरपालिकालाई आग्रह गरे।
विशेषज्ञ चिकित्सक सहित १४ जना डक्टरको दरबन्दी रहेको अस्पतालमा हाल ४ जनामात्र डाक्टरले सेवा दिई रहेका छन्।