काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार दिउँसो काठमाडौं आइपुगेका छन्। विशेष बिमानबाट ३२ सदस्यीय टोलीसहित उनी नेपाल आएका हुन्।
नेपाल भ्रमणका क्रममा पाकिस्तानका प्रधानमन्त्री अब्बासीको स्वास्थ्य उपचार गर्न तथा उनको स्वास्थ्य अवस्थाको जाँच गर्न वीर अस्पतालका डा अमर पौडेल खटिएका छन्। नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री अब्बासी तथा उनको टोलीका स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सरकारले डा पौडेललाई उनीहरुसँगै रहने गरि खटाएको हो।
वीर अस्पतालले परराष्ट्र मन्त्रालयको पत्र अनुसार डाक्टर खटाएको र अस्पतालमा रहेको भिभिआइपी वार्डलाई समेत तयारी अवस्थामा राखेको छ। वीर अस्पतालले यसको जानकारी स्वास्थ्य मन्त्रालयमा पठाइसकेको छ।
मन्त्रालयमा पठाएको जानकारी अनुसार २१ र २२ गते हुने पाकिस्तानी प्रधानमन्त्री अब्बासीको स्वास्थ्य सुरक्षाका लागि डा पौडेललाई निजी चिकित्सकका रुपमा तोकिएको र आईपर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर वीर अस्पतालको भिभिआइपी कक्षलाई तयारी अवस्थामा राखिएको छ। यो अवधिभर भिभिआइपी कक्षलाई २४ सै घण्टा उच्च सुरक्षा दिएर राखिएको छ।
यो सँगै भ्रमण अवधिभर उच्चस्तरीय क्षमतासहितको एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ। आकस्मिक सेवाको जिम्मेवारी वीर अस्पतालका डा केदार सेन्चुरी, मेडिसियनतर्फको जिम्मेवारी डा मनेन प्रसाद गोर्खाली र सर्जरीतर्फको जिम्मेवारी डा किशोर मानन्धरलाई दिइएको पत्रमा उल्लेख छ।