काठमाडौं– विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा नेपालकै अत्याधुनिक रेडियोथेरापी मेसिन भित्र्याइएको छ। आइतबार आइजी आरटी र आइएम आरटी लिनियाक रेडियोथेरापी मेसिन ल्याइएको हो।
नेपालमा उपलब्ध रेडियोथेरापीमध्ये हालसम्मकै अत्याधुनिक प्रविधियुक्त भएको अस्पतालले जनाएको छ। करिब १८ करोड मूल्यका उक्त मेसिन आएपछि दैनिक थप सय जना बिरामीले उपचार पाउने भएका छन्। यसअघि अस्पतालमा उपलब्ध मेसिनबाट दैनिक १ सय २० जनाले उपचार सेवा पाउँदै आएका थिए।
बिरामीको चाप भए पनि मेसिन अभावका कारण धेरै बिरामीले अन्य अस्पतालमा गएर रेडियोथेरापी गर्नुपर्थ्यो। अस्पतालले यो प्रविधिबाट दिइने उपचार सेवाको शुल्क २५ हजारदेखि ७५ हजारसम्म लिने गरेको छ। निजी अस्पतालहरुले भने १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म लिने गरेका छन्।
अमेरिकास्थित मेसिन भेरियन कम्पनीको उक्त मेसिनबाट प्रभावकारी उपचार सेवा दिन सकिने अस्पतालले जनाएको छ। ट्युमर भएकै ठाउँमा मात्रै विकिरण पार्न सकिने भएकाले उपचारमा सहज हुने बताइएको छ।