काठमाडौं- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदवहाली गरेको १० दिनपछि डा विनोदमान श्रेष्ठले आज सोमबार अवकास पाएका छन्।
उमेरका आधारमा अनिवार्य अवकास पाएका डा श्रेष्ठलाई आज विभागबाट बिदाई गरिएको छ। उनले फागुन ११ गते शुक्रबार महानिर्देशकको पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेको दुई दिनपछि १३ गते आइतबार उनी स्वास्थ्यको कार्यक्रममा सहभागि हुन स्विटजरल्यान्डको जेनेभा गएका थिए।
जेनेभामा ७ दिनको कार्यक्रममा सहभागि भएर उनी हिजो आइतबार मात्र काठमाडौं आएका हुन्। काठमाडौं आएलगत्तै उनी हिजो स्वास्थ्य मन्त्रालय र टेकुस्थित विभागमा पुगेका थिए। त्यसपछि आज उनले महानिर्देशकको कुर्सीमा बसे।
अपरान्ह ४ बजे विभागमा एक कार्यक्रमको आयोजना गरेर उनलाई बिदाई गरियो। यो आधारमा हेर्दा महानिर्देशकका रुपमा डा श्रेष्ठले ७ दिन जेनेभामा बिताए भने महानिर्देशकको कुर्सीमा भने जम्मा तीन दिन मात्र बस्न पाए।
उनी महानिर्देशकमा नियुक्त हुँदासमेत नेपालमा थिएनन्। डा श्रेष्ठलाई फागुन २ गते महानिर्देशकमा नियुक्त गरिउको थियो। डा श्रेष्ठले महानिर्देशकमा नियुक्त भएको ९ दिनपछि फागुन ११ गते मात्र विभागमा पुगेर जिम्मेवारी सम्हालेका थिए।
अवकासको दिन नजिकिएको समयमा आफूलाई जानकारी नै नदिइ महानिर्देशकको जिम्मेवारी दिएकोमा डा श्रेष्ठले असन्तुष्टि जनाएका थिए। सोही कारण उनले महानिर्देशकको जिम्मेवारी पाउँदा समेत पदवहाली गरेका थिएनन्।
विभागको महानिर्देशकमा १२ औं तहका कर्मचारी रहने व्यवस्था रहेको र आगामि दिनमा यही व्यवस्थालाई निरन्तरता दिने सहज हुने भन्दै सहकर्मीको आग्रहपछि उनले अवकास हुनुभन्दा १० दिनअघि पदवहाली गरेका हुन्।
निर्वतमान स्वास्थ्य मन्त्री दीपक बोहराले गत पुस ३० गते विभागका निमित्त महानिर्देशक डा राजेन्द्र पन्तलाई हटाएर डा तारानाथ पौडेललाई नियुक्त गरेपछि महानिर्देशकमा विवाद उत्पन्न भएको थियो।
डा पन्तले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए। सार्वेच्चले डा पन्तलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशपछि मन्त्रीले महानिर्देशकमा डा पन्तलाई काम गर्न नदिन नयाँ महानिर्देशकका रुपमा डा श्रेष्ठलाई नियुक्त गरेका थिए।