भोजपुर- भोजपुरमा रहेको एकमात्र जिल्ला अस्पतालको प्रसूति शल्यक्रिया सेवा करिब दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ।
शल्यक्रियाका लागि आवश्यक दक्ष जनशक्ति तथा औषधिको अभावका कारण बन्द रहेको प्रसूति सेवा सोमबारदेखि पुनः सञ्चालनमा आएको हो। शल्यक्रिया सेवा बन्द हुँदा सुत्केरी महिलाले निक्कै सास्ती भोग्नुपरेको थियो। हालै मात्र प्रसूति शल्यक्रिया सेवा सञ्चालनका लागि दुुईजना दक्ष चिकित्सक ल्याएपछि सोमबार एकजनाको शल्यक्रिया गरी प्रसूति गराउन सफल भएको डा पुजन विश्वकर्माले जानकारी दिए।
हाल शल्यक्रियाका लागि डा त्रिभुवनचन्द्र झा र पुजन विश्वकर्माले सेवा दिइरहेका छन् । पुनः सेवा सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासी हर्षित भएका छन् । सेवा बन्द भएपछि भौतिक पूर्वाधारसमेत जीर्ण बन्दै गएका कारण पनि सेवा सञ्चालनमा ल्याउन समस्या रहेको डा विश्वकर्माले बताए। अब भने सेवा निरन्तर सञ्चालनमा रहने अस्पतालले जनाएको छ। रासस