काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आज विचारविमर्श भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री अब्बासीको भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप सुमधुर तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच रहिआएको मित्रवत् सम्बन्ध चिरकालपर्यन्त थप सुदृढ तुल्याउँदै लैजानुपर्नेमा जोड दिइन्।
सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध राजनीतिक तहमा मात्र नभई जनस्तरमा समेत निकै अनुपम र उदाहरणीय रहेको बताउँदै पाकिस्तानले नेपाललाई चिकित्सा शिक्षाका लागि दिँदै आएको सिट संख्यामा वृद्धि गर्ने जानकारी दिए।
दुई देशबीचको समस्याले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का गतिविधि र प्रक्रिया प्रभावित हुन नहुनेमा जोड दिँदै पाकिस्तानी प्रधानमन्त्रीले आगामी दिनमा सार्कको भूमिकालाई सशक्त तुल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे। रासस