नवलपरासी- स्थापना भएको करीव ८० वर्षपछि पृथ्वी चन्द्र अस्पतालमा औषधालय सेवा सञ्चालनमा आएको छ।
अथक प्रयासपछि मन्त्रालयले रकम उपलब्ध गराएपछि जिल्लाको एक मात्र जिल्ला पृथ्वीचन्द्र अस्पतालमा चार महिनाअघिदेखि औषधालय सेवा सञ्चालनमा आएको हो । सोअनुसार निःशुल्क र सशुल्क दुवै प्रकारका औषधि प्रदान गरिएको छ । सरकारले नियमानुसार उपलब्ध गराउने निःशुल्क औषधिको अभिलेख खडा गर्न भनिएको छ।
सशुल्क उपलब्ध गराइने औषधि बाहिरको मूल्यभन्दा निकै सस्तोमा उपलब्ध गराइँदै आएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिए। नाफामूलकभन्दा पनि सेवामूलक भावनाले औषधालय सेवा सञ्चालनमा ल्याइएको हो। श्रीवास्तवका अनुसार चौबीसै घण्टा बाहिरका औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराइने छ।
अस्पतालभित्र औषधालय सेवा नभएका कारण बिरामीलाई औषधि लिनका अस्पताल बाहिर भएको क्लिनिकमा जानुपर्ने बाध्यता रहँदै आएको थियो । अस्पतालमा ५३ जनशक्तिको दरबन्दी भए पनि हाल २१ जना मात्रले काम चलाउनुपर्दा प्रभावकारी सेवा प्रवाह गर्न कठिनाइ हुँदै आएको छ । हालै मात्र ५० शय्याको क्षमता विस्तार भएको अस्पतालमा दिनहुँ करीव १५० बिरामी आउने गरेका छन्। रासस