चितवन- भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा अत्याधुनिक प्रविधिको ‘डेन्टल चियर’ सञ्चालनमा ल्याइएको छ।
करिब ४० लाखको लागतमा ६ वटा अत्याधुनिक कुर्सी ल्याएर फागुन १५ देखि प्रयोग गर्न थालिएको हो। दाँत सफा गर्ने, दाँत भर्ने, शल्यक्रिया गर्ने सबै प्रविधि एउटै कुर्सीमा राखिएको छ।
डेन्टल चियर राखेपछि कम समयमा धेरै बिरामीको उपचार गर्न सकिने दन्त चिकित्सा विभागकी प्रमुख डा सोनी सुवेदीले बताइन्।
अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार, अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि दन्त चिकित्सा विभागलाई सुविधासम्पन्न बनाइएको हो।
पछिल्लो समय भरतपुर अस्पतालको सेवामा विशिष्टीकरण ल्याउने क्रममा दन्त चिकित्सा विभागलाई प्राथमिकतामा राखेर विकास गरिएको प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले बताए। अन्य विभागलाई पनि प्राथमिकतामा राखेर योजना अघि सारिएको उनले जानकारी दिए।