भक्तपुर- प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले भक्तपुरस्थित क्यान्सर अस्पतालको नयाँ एनेक्स वार्डको आज उद्घाटन गरेकी छिन्।
अस्पतालको २३ औँ वार्षिकोत्सवका अवसरमा उनले सो वार्डको उद्घाटन गरेकी हुन्।
सो अवसरमा क्यान्सर, एचआइभीका बिरामीलाई अधिकांश अस्पतालमा भेदभाव र लाञ्छना हुने गरेको बताउँदै प्रदेश प्रमुख कोइरालाले सबै अस्पतालबाट यस्ता भेदभाव र लाञ्छना हटाउनुपर्नेमा जोड दिइन्।
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर शिक्षा र स्वास्थ्यको गन्तव्यको क्षेत्र भएको बताउँदै भक्तपुरलाई प्रदेशको स्थायी राजधानी बनाए सबै जिल्लाका आमनागरिकलाई सहज हुने बताए।
अस्पतालका सल्लाहकार दिवाकर राजकर्णिकारले अस्पतालमा बिरामीको चाप बढ्दै गएअनुसार भवन र भौतिक संरचनाको अभाव भएको बताए।
कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर प्राडा ऋषिकेश नारायण श्रेष्ठका अनुसार सन् २०१३ मा करिब ३४ हजार बिरामीले सेवा लिएकोमा सन् २०१७ मा ६८ हजार बिरामीले सेवा लिएको र तीन हजार चारसय क्यान्सरका बिरामीको उपचार भएको छ।
प्रत्येक दिन यस अस्पतालमा ९६ बिरामीको उपचार भइरहेको र ओपिडिमा ३०० बिरामीले सेवा लिइरहेका छन्। रासस