काठमाडौं– वीर अस्पतालले क्यान्सर हुनबाट जोगाउन छुट्टै क्लिनिक स्थापना गरेको छ । क्यान्सर प्रिभेन्टिभ एन्ड स्क्रिनिङ क्लिनिक स्वास्थ्य सेवा दिवसको अवसरमा फागुन १५ बाट सञ्चालनमा ल्याइएको हो।
स्वास्थ्य कर कोषको सहयोगमा सञ्चालित क्लिनिकमा क्यान्सर सम्भावना रहे/नरहेको विषयमा जाँच र काउन्सिलिङ गरिने क्लिनिककी संयोजक डा आरती शाहले बताइन् । उनले भनिन्, ‘निकट भविष्यमा क्यान्सर हुन सक्ने सम्भावना औंल्याउनुका साथै यसबाट जोगिन सल्लाह दिन क्लिनिक स्थापना गरिएको हो ।’
कलेजो, फोक्सो, आन्द्रा, मुख, स्तन, पाठेघरको मुखको क्यान्सरलगायतका जोखिमबारे जाँच र सल्लाह दिने गरिएको छ । हरेक दिन १० देखि १२ बजेसम्म उक्त सेवा दिइनेछ ।
आइतबार स्तन क्यान्सर, सोमबार नाक, कान र घाँटी, मंगलबार सीइआरभीआइएक्स, बुधबार कलेजो, बिहीबार जीआई र क्लोन र शुक्रवार फोक्सो सम्बन्धि क्यान्सर बारे सेवा दिइने डा शाहले बताइन् ।